राष्ट्रियसभाको सिट बाँडफाँट अझै टुंगिन बाँकी

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनलाई लिएर सिट बाँडफाँटमा अझै सहमति जुट्न नसकेको बताएका छन् ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहीबार बसेको सत्तारुढ गठबन्धनका चार दलको बैठकले सिट बाँटफाँटको विषय अझै टुङ्ग्याउन नसकेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै कांग्रेसका प्रमुख सचेतक लेखकले सरकारमा सहभागी चार राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका नेताहरुको बीच छलफल भएको तर सिट बाँटफाँटको विषय टुंगिइ नसकेको बताए । उनले आज साँझ वा शुक्रबार बिहान पुनः बस्नेगरी बैठक सकिएको बताए ।
‘‘सरकारमा सहभागी चार राजनीतिक दलका नेताहरुको छलफल भएको छ । नेताहरुको बीचमा मूलतः राष्ट्रियसभा निर्वाचनको विषयलाई लिएर छलफल भएको छ ।,’’ प्रमुख सचेतक लेखकले भने, ‘‘थप छलफल गर्न बाँकी छ, त्यसका लागि फेरि साँझ वा भोलि बिहन बस्ने गरी उठेका छौँ । ’’

प्रमुख सचेतक लेखकले एमालेसँगको छलफल समसामयिक राजनीतिक विषयमा भइरहेको बताए । उनले भने, ‘‘एमालेसँगको छलफल, समसामयिक राजनीतिक विषयमा भइरहेको हुनाले एमालेसँगको संवाद पनि समसामयिक विषयमा जारी रहन्छ, गठबन्धनको संवाद पनि जारी रहन्छ । गठबन्धनका राजनीतिक दलहरुका बीचमा राष्ट्रियसभाकै विषयलाई केन्द्रमा राखेर छलफल भइरहेको छ । एमालेसँग समग्रतामा समसामयिक विषयमा छलफल भइरहेको छ ।’’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर