काठमाडौं–हेटौंडा छोटो दुरीको सबै मार्गमा स्तरोन्नतिका लागि सवारी आवागमन बन्द

काठमाडौं । हेटौँडालाई काठमाडौँसँग जोड्ने छोटो दुरीका दुवै मार्गमा सवारी आवागमन बन्द गरिएको छ । कुलेखानी–महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक र कुलेखानी–फाखेल–फर्पिङ सडक स्तरोन्नतिका क्रममा सवारीसाधनको आवागमन बन्द गरिएको हो ।

दुवै सडकको मकवानपुर र काठमाडौँको दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेकाले बन्द गरिएको सम्बन्धित स्थानीय तहहरूले जनाएका छन् ।
कुलेखानी–फाखेल–फर्पिङ सडक स्तरोन्नतिका क्रममा सोमबारबाट यातायातका साधनको आवागमन रोकिएको छ । यो सडकखण्ड स्तरोन्नतिको क्रममा आगामी चैत मसान्तसम्म बन्द हुने भएको छ ।

कुलेखानी–फाखेल–फर्पिङ सडकको स्तरोन्नतिको काम बागमती प्रदेश सरकार मातहतको चितवन र ललितपुरका पूर्वाधार विकास कार्यालयमार्फत भइरहेको हो । पूर्वाधार विकास कार्यालय चितवनमार्फत मकवानपुरतर्फ कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ सडकखण्डको र पूर्वाधार विकास कार्यालय ललितपुरमार्फत हुमानेभन्ज्याङ–टल्कु–फर्पिङ सडकखण्डको स्तरोन्नतिको काम चलिरहेको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले कुलेखानी–फाखेल–फर्पिङ सडकखण्डमा सडक मर्मत, निर्माण तथा स्तरोन्नतिको काम भइरहेको भन्दै निर्माण कार्यलाई प्रभावकारी बनाउन सोमबारबाट आगामी फागुन १५ गतेसम्म दुई महिनाका लागि सो सडकबाट चल्ने सम्पूर्ण सवारीसाधन पूर्ण रूपमा बन्द गरिएको जनाएको छ । पालिकाले सवारीसाधनलाई अन्य वैकल्पिक मार्ग प्रयोग गरी आवागमन गर्न जानकारी गराएको छ ।

उता काठमाडौँको दक्षिणकाली नगरपालिकाले काठमाडौँतर्फ हुमानेभन्ज्याङ–टल्कु–फर्पिङ सडकखण्डमा कालोपत्रे गर्ने तयारीमा रहेकाले सवारीधनीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । नगरपालिकाले कालोपत्रे गर्ने कामको तयारीका व्रmममा बेस र सबबेस बिछाउने कार्य भएको हुँदा कालोपत्रे गर्ने कार्य गर्न सवारीसाधनको चापले निर्माण कार्य गर्न समस्या भएको भन्दै उक्त सडकखण्डमा चल्ने सवारीसाधनलाई वैकल्पिक मार्गमा डाइभर्सन गराउन वा आवागमन रोक लगाउन भनेको छ ।

कुलेखानी–महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक पनि स्तरोन्नतिका क्रममा बन्द गरिएको छ । यो सडकखण्ड गत मङ्सिर २१ गतेबाट एक महिनाका लागि सवारी आवागमन बन्द गरिएको हो । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दुतराज तितुङले सडकखण्डको दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेकाले निर्धारित समय सीमाभित्र सडक निर्माण कार्य पूरा गर्न सवारी आवागमन बन्द गरिएको जानकारी दिए । उनले सडक स्तरोन्नति कार्य निर्धारित समय सीमाभित्र सम्पन्न गर्न बिहीबारबाट आगामी पुस २१ गतेसम्मका लागि सवारीसाधन आवतजावत बन्द गरिएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर