रुबिना प्रधानमन्त्री कपको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । कोशी प्रदेशकी कप्तान रुबिना क्षेत्री प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । फाइनलमा एपीएफ क्लबसँग पराजित भए पनि रुबिनाले कोशीका लागि सर्वाधिक ६२ रन बनाएकी थिइन् । उनले उपाधिसहित यामाहाको स्कुटर पुरस्कार पाइन् । नेपाली महिला क्रिकेट टोलीकी पूर्वकप्तान समेत रहेकी रुबिनाले यस प्रतियोगितामा अलराउन्डर खेल प्रदर्शन गरिन् । उनले १० खेलमा तीन अर्धशतकसहित कूल तीन सय ४५ रन बनाउनुका साथै ११ विकेट पनि लिएकी थिइन् । यस्तै उदीयमान खेलाडी ज्योत्सिका मरासिनी, उत्कृष्ट ब्याटर सुमन खतिवडा र उत्कृष्ट बलर पूजा महतो चुनिन् ।

व्यक्तिगत उत्कृष्टलाई जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको प्रतियोगिताको फाइनलमा एपीएफले कोशीलाई ११ रनले हराउँदै उपाधि जितेको हो । उपाधि विजेता टोली र खेलाडीलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले पुरस्कार प्रदान गरे । पुस ५ गतेबाट सुरु भएको प्रतियोगितामा विभागीय टोली एपीएफ र सात प्रदेशगरी आठ टोलीको सहभागिता थियो ।

ज्योतिको संन्यास

कीर्तिपुरमा एपीएफ क्बललाई च्याम्पियन बनाएसँगै नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डेले खेल जीवनबाट संन्यास लिएकी छन् । उनले बुधबार राष्ट्रिय र घरेलु दुबैबाट संन्यास लिएको घोषणा गरिएकी थिइन् । एपीएफलाई प्रधानमन्त्री कप महिला टी–२० उपाधि जिताएर संन्यास लिएपछि ज्योतिलाई मैदानमा एपीएफ टोलीले गार्डअफ अर्नरसहित सम्मान दिएको थियो । सन् २०१६ मा थाइल्यान्डमा भएको एसीसी महिला एसिया कपमा पाकिस्तानविरुद्ध डेब्यु गरेकी उनले नेपालका लागि १७ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेकी थिइन् । घरेलु क्रिकेटमा उनी सन् २०११ देखि एपीएफ क्लबबाट खेल्दै आएकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर