आर्थिक मन्दीले धनकुटास्थित निगाले सिमेन्ट उद्योग बन्द

काठमाडौं ।  आर्थिक संकटका कारण कच्चा पदार्थ अभाव भएपछि धनकुटामा रहेको एक मात्रै ठूलो उद्योग निगाले सिमेन्ट उद्योग बन्द भएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ६ सिधुवाँमा रहेको सिमेन्ट उद्योग बन्द भएको हो ।

दैनिक छ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको यो उद्योगले पछिल्लो समय तीन हजार बोरा मात्रै सिमेन्ट उत्पादन गर्दै आएको थियो । उत्पादन ठप्प भएपछि उद्योगका १ सय ५० जनाभन्दा बढी कर्मचारी बेरोजगार बनेका छन् । आर्थिक संकटकै कारण उद्योगले दैनिक लाखौं रुपैयाँ घाटासमेत बेहोर्नुपरेको परेको छ । उद्योग गलत ठाउँमा खुलेको र चिसोका कारण पनि सुरुवातदेखि नै तीन सय टन उत्पादन क्षमता रहेको सो उद्योगले दैनिक एक सय ५० टन मात्रै उत्पादन गर्दै आएको कर्मचारी सरोज सेढाँइले जानकारी दिए । कोभिडले थला पारेपछि सुरु भएको आर्थिक मन्दीका कारण भारतका विभिन्न क्षेत्रबाट आउने कोइला, बक्साइट, लेटराइट, जिप्समलगायतको कच्चा पदार्थको मूल्य अत्याधिक बढ्नु र सिमेन्ट बिक्री ठप्प हुँदा उद्योग बन्द भएको हो ।

उद्योग सञ्चालन हुँदा कोशी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, भोजपुर तथा संखुवासभाको सिमेन्टको ८० प्रतिशत माग धान्दै आएको थियो । यता उद्योगले जरिवाना बाहेक १४ करोड १८ लाख ३३ हजार ९ सय १० रुपैयाँ विद्युत महशुल तिर्न बाँकी रहेपछि विद्युत प्राधिकरण धनकुटाले लाइन काटेको छ । धनकुटामा निगाले सिमेन्टसहित साना र मझौला उद्योग आर्थिक संकटको कारण धमाधम बन्द भइरहेको र सञ्चालनको लागि तीनै तहको सरकारले पहल गर्नुपर्ने धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर