नेपाल–भारत संयुक्त आयोगको बैठक भोलि बस्दै

काठमाडौं ।  नेपाल–भारत संयुक्त आयोगको बैठक भोलि बस्दैछ । कोभिड महामारीका कारण विगत दुई वर्ष बैठक हुन सकेको थिएन । दुई वर्षअघि २०७७ माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो । त्यसयता रोकिएको बैठक यस पटक काठमाडौँमा हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुई देशका परराष्ट्रमन्त्रीद्वयको नेतृत्वमा बैठक बस्नेछ ।नेपाल र भारतबीच स्थापना गरिएका संयन्त्रमध्ये सबैभन्दा महत्त्वपूर्ण परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोग मानिन्छ । आयोगको बैठकमा नेपालका तयारीका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पूर्व परराष्ट्रमन्त्री, पूर्वपरराष्ट्र सचिव र भारतका लागि पूर्वराजदूतहरूसँग हिजो छलफल गरेका थिए।

छलफलमा बढ्दो व्यापार घाटाका सम्बन्धमा भारतमा नेपालको निर्यात वृद्धिका उपाय पहिल्याउनुपर्ने, विद्युत् व्यापारलाई विस्तार गर्नुपर्ने, अन्तर्देशीय पूर्वाधार सुदृढ गर्नुपर्ने, विगतमा थालिएका विकास आयोजना समयमै सम्पन्न गर्न जोड दिनुपर्ने, हवाई रुटलगायतका विषय सम्बोधन गर्नुपर्ने विषयमा पनि सुझाव प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

छलफलमा पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा, पूर्वपरराष्ट्र सचिवहरू मधुरमण आचार्य, अर्जुन थापा, दुर्गा भट्टराई, भरत पौडेल, पूर्वराजदूत दुर्गेशमान सिंहलगायतको सहभागिता रहेको थियो । उच्चस्तरीय भ्रमणमा भएको सहमति र समझदारीको कार्यसूची आयोगको बैठकमा प्रस्तुत हुने र त्यसलाई मूर्तरूप दिने कार्य बैठकले गर्नेछ । बैठकमा भाग लिन भारतका विदेशमन्त्री सुब्रह्मन्यम जयशङ्कर भोलि बिहान नेपाल भ्रमणमा आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर