रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पुर्पक्षका लागि थुनामा

काठमाडौं ।  कास्कीको पोखरा महानगरमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले सोमबार दर्लामीलाई थुनामा पठाउने आदेश गरेको हो ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं. ७ घर भएका ३८ वर्षीय दर्लामीलाई प्रहरीले गत बिहीबार रामेछापबाटै नियन्त्रणमा लिएको थियो । सूर्यदर्शनका सञ्चालकले बचतकर्ता र शेयर सदस्यको एक अर्ब ३५ करोड ५३ लाख हिनामिना गरेको अभियोग छ । सहकारी ऐन, २०७४ तथा मुलुकी अपराध संहिता, २०७४ को ठगी कसुरमा सहकारी ठगीमा १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा विचाराधीन छ ।

जिल्ला सरकारी वकिल कार्यालयले गत १८ असोजमा १९ जनालाई प्रतिवादी बनाई  जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो । यसअघि पक्राउ परेका सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई पनि २१ असोजमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । रम्तेल र दर्लामीबाहेक १७ प्रतिवादी अझै फरार सूचीमा छन् । सहकारी ठगीका मुख्य आरोपी संस्थापक अध्यक्ष जीबी राईसहित पूर्व अध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर तथा पूर्व सञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे)विरुद्ध इन्टरपोलमार्फत प्रहरीले डिफ्युजन नोटिस जारी गर्ने प्रक्रियाअघि बढाएको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले बताए ।

सूर्यदर्शनका सचिव धीरजकुमार दास, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्य हेमन्त अधिकारी, प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका र सुरज श्रेष्ठको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । देशैभर सहकारी खोलेर बचत र जम्मा रकम हिनामिना गर्ने यो सहकारीको रकम राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको खातामा समेत जम्मा भएको सार्वजनिक भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर