बालकुमारी घटनाको अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन

काठमाडौं । ललितपुरको बालकुमारीमा भएको घटनाको अनुसन्धान गर्न सरकारले उच्चस्तरीय आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षताका उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको हो ।

आयोगको सदस्यमा पूर्वएआईजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई रहेका छन् । आयोगलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार आयोगले आजैदेखि काम थाल्नेछ ।

आयोगलाई घटनाको मानवीय तथा भौतिक क्षतिको अध्ययन विश्लेषण गर्ने, सुरक्षामा भएको कमजोरीबारे अध्ययन गर्ने र दोषी देखिएका जोकोहीलाई पनि कारबाहीको लागि सिफारिस गर्ने अधिकार दिइएको पनि उनले बताइन् ।

यसअघि गृहमन्त्रालयले घटना भएकै दिन गत शुक्रबार पुस १३ गते नेपाल प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । तर समितिमा पीडित पक्षको प्रतिनिधित्व नभएको भन्दै मृतकका परिवारले प्रधानमन्त्रीलाई भेटेरै न्यायिक आयोग गठनको माग गरेका थिए ।
यसैगरी, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनको बेलामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताएका छन् ।

सिंहदरबारमा आज सोमबार बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले आन्दोलनको जानकारी भइसकेपछि पनि मन्त्री ज्वाला त्यही बाटो भएर आउनुले स्थिति असामान्य बनेको बताएको हो ।

मन्त्री ज्वालाले आन्दोलनकारीहरुसँग सवाल जवाफ गर्नुभएको, त्यसपछि धकेलाधकेल भएको र प्रहरीले गोली चलाएको प्रारम्भिक अध्ययनबाट थाहा भएको उनको भनाइ छ । साथै गोली चलेपछि मात्रै गाडी जलेको देखिएको पनि गृहमन्त्री श्रेष्ठले बताए । उनले घटनामा ईपीएस कार्यालय प्रमुखको भूमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी भएको पनि स्वीकार गरे ।

दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनाको विषयमा संसदीय समितिले समितिले गृहमन्त्रीसहित प्रहरी प्रमुखसँग सोधपुछ गरेको हो । समितिको बैठकमा केही सांसदहरुले घटनाको जिम्मेवारी लिँदै राजीनामा दिन गृहमन्त्रीलाई सुझाव दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर