बालकुमारी घटना : मृतकका परिवारलाई जनही १०–१० लाख राहत उपलब्ध गराउने निर्णय

काठमाडौं । सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई जनही १०–१० लाखका दरले राहत उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री निवासमा शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो घटनाका मृतक दैलेखका सुजन रावत र अछामका वीरेन्द्र साहको परिवारलाई १०–१० लाखका दरले राहत उपलब्ध गराउने निर्णय हो।

सो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ। त्यसैगरी मन्त्रिपरिषद् बैठकले सो घटनामा परी घाइते भएकाको सम्पूर्ण उपचार खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको पनि सञ्चारमन्त्री शर्माले बताइन् ।

सो घटनामा निष्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न र आगामी दिनमा त्यस्ता प्रकृतिका घटना हुन नदिन पनि गृह मन्त्रालयलाई मन्त्रिपरिषद् बैठकले सचेत गराएको छ। सरकारले सो घटनालाई संयमतापूर्वक लिएर शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन पनि सबैलाई अपिल गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर