बालकुमारी घटना : गोली चलाउन आदेश दिने प्रहरी अधिकारी र मन्त्रीका पिएसओ निलम्बित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो शुक्रबार बालकुमारी क्षेत्रमा दुईजनाको ज्यान जाने गरी भएको घटनामा प्रहरीको गल्ती भएको बताएका छन्। शनिबार मजदुरहरूको संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको छैटौँ राष्ट्रिय सम्मेलन कार्यक्रममा प्रचण्डले बालकुमारी घटनाप्रति सरकार संवेदनशील बनेको र गोली हान्ने आदेश दिने प्रहरी अधिकारी र घटनाको विषय परिस्थिति अड्कल गर्न नसकेकोमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पिएसओलाई पनि निलम्बन गरिसकेको जानकारी दिए।

उनले भने, “हिजो घटना हुँदा म दोलखामा थिएँ। आज बिहान मात्रै बालुवाटारमा सम्बन्धित पक्षहरूलाई बोलाएर बुझ्‍ने काम भएको छ। राजनीतिक कदम पनि चालिसकिएको छ। मन्त्रीको पिएसओलाई निलम्बन गरिएको छ। गोली चलाउने अधिकारीलाई पनि निलम्बन गरिएको छ।”

त्यस्तै, मृतकका परिवारबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बोलाइएको पनि उनले जानकारी दिए। त्यस्तै, अदालतको फैसलाले इपिएस कार्यालयले १८ जनालाई मात्रै परीक्षा दिन दिने र अरूलाई नदिने भन्न खोजेको होइन भन्ने आफूले बुझेको पनि उनले बताए। वैदेशिक रोजगारको विषयमा सरकार र सबै पक्ष संवेदशील रहेको र यसलाई व्‍यवस्थित गर्दै लैजाने पनि उनले बताए। हिजो बालकुमारी क्षेत्रमा प्रदर्शन हुँदा प्रहरीको गोली लागेर दुईजना युवाको मृत्यु भएको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर