नारायणी नदीमा थप नयाँ पुल बनाइने

काठमाडौं । नारायणी नदीमा थप नयाँ पुलको काम सुरु भएको छ । पुलको नक्साङ्कनको काम भइरहेको छ भने निर्माणस्थलको माटो परीक्षण पनि सम्पन्न भएको छ ।

पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिकालाई यो पुलले जोड्छ । पुलको ठेक्का तुँदी कन्स्ट्रक्सन प्रालिले पाएको छ । उक्त कम्पनीलाई एक अर्ब ६८ करोड ७६ लाखमा नक्साङ्कन सहितको निर्माणको ठेक्का दिइएको हो ।

गएको जुन २ तारिखमा ४८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाइएको हो । निर्माण कम्पनीका परियोजना प्रमुख मञ्जिल मिश्रका अनुसार कामलाई तीव्र गतिमा अघि बढाइएकाले चैत मसान्तसम्ममा शिलान्यास गरेर काम अघि बढाइने तयारी छ । उनले भने, “वर्षातमा काम गर्न अप्ठ्यारो हुने भएकाले चैतसम्ममा नक्साङ्कनको काम सकेर निर्माणको काम थाल्ने तयारीमा छौँ ।”

पुल निर्माणका लागि भरतपुर महानगरपालिकाले पहल गर्दै आएको थियो । महानगर प्रमुख रेणु दाहालले तोकिएको समयभित्र पुल सम्पन्न गर्नका लागि आवश्यक सहयोग गर्न महानगर तयार रहेको बताइन् । वर्षातको समयमा भुईँको काम गर्न कठिन हुने भएकाले यही हिउँददेखि काम थाल्न सकिएमा वर्षायाममा काम गर्न सहज हुने उनले बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर