अब सबैका लागि ‘इपीएस परीक्षा’ को आवेदन खुला

काठमाडौं । पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले शुक्रबार एक सूचना जारी गरी भाषा परीक्षामा पनि निवेदन दिन पाउने जानकारी गराएको हो ।

विभागको इपीएस कोरिया शाखाका अनुसार आवेदन बुझाउने म्याद यही पुस १६ देखि १८ गतेसम्म व्यवस्था गरिएको छ । पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका सुरज पाठकसहित १८ जना परीक्षार्थीले उत्पादन क्षेत्रमा पनि आवेदन फाराम भर्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि विभागका नाममा ‘निवेदकको माग बमोजिम गर्न’उक्त अदालतले विभागका नाममा आदेश जारी गरेको थियो ।

आदेशमा भनिएको छ, ‘निवेदकहरूलाई आवेदन फारम भर्नबाट वञ्चित गर्न मनासिब नहुँदा निवेदकहरूलगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई मंसिर १९ गतेको सूचना बमोजिम पुस २ बाट खुला गरिएको आवेदन फारम भर्न रोक नलगाउनू र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनू ।’ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डन्डुराज घिमिरेका अनुसार कोरियाले एउटा क्षेत्र रोजेर भाषा परीक्षामा सहभागी भएकालाई एक वर्षभित्रै अर्को भाषा परीक्षामा सहभागी नगराउने नीति छ । जहाज निर्माणको क्षेत्र रोजेर भाषा परीक्षा दिएकाहरूलाई उत्पादन क्षेत्रको लागि खुलाइएको भाषा परीक्षामा सहभागी गराइएको थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर