अधिकार नपाएमा संघर्षमा जाने मुख्यमन्त्रीहरूको चेतावनी

काठमाडौं ।  सङ्घीयता कार्यान्वयनको लागि अधिकार माग्दै सात वटै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । आज बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनीहरुले नौ बुँदे निर्णय बुझाउँदै ध्यानाकर्षण समेत गराएका हुन् । हिजो हेटौँडामा भएको मुख्यमन्त्रीहरुको भेलाको निर्णयअनुसार सङ्घीयता कार्यान्वयन र संविधानमा प्रदत्त अधिकार प्रदेश सरकारलाई दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठसमेत सहभागी भेटमा मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई साझा अवधारणापत्र बुझाएका हुन् । पहिले पोखरामा भएको निर्णय पनि कार्यान्वयन नभएको र अहिलेको यो नौ बुँदे साझा अवधारणापत्रलाई त्यसैगरी बेवास्ता नगर्न पनि उनीहरुले भनेका छन् । हिजो हेटौँडा भेला सकेलगत्तै मुख्यमन्त्रीहरु काठमाडौं  आएका थिए । सात वटै प्रदेशका मुख्यमन्त्रीहरुले सङ्घीयता कार्यान्वयनमा सङ्घीय सरकार गम्भीर नभएको भन्दै अब पनि बेवास्ता गरेमा सङ्घर्षमा जाने चेतावनी दिएका छन् ।

मुख्यमन्त्रीहरुले प्रहरी समायोजन, सङ्घीय निजामती सेवा ऐन जारी गर्न माग गरेका छन् । प्रदेशले प्रयोग गरिरहेका सरकारी भवन तथा जग्गाको स्वामित्व हस्तान्तरण गर्न, साझा अधिकारका विषयका कानुन निर्माणमा सहकार्य गर्न, राष्ट्रिय वनलगायतका प्राकृतिक स्रोतको उपयोग एवम् राजस्व बाँडफाँट, वित्तीय हस्तान्तरणलगायतका माग राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर