मेलम्चीको पानी पुस २८ को सट्टा माघको पहिलो हप्ता

काठमाडौं ।  खानेपानीमन्त्री महेन्द्रराय यादवले मेलम्चीको पानी आगामी माघ पहिलो साता काठमाडौं पुर्‍याउने बताएका छन् । मेलम्ची आयोजनाको मुहानस्थल अम्बाथानको शुक्रबार स्थलगत अवलोकन गर्दै मन्त्री यादवले द्रुतगतिमा काम भइरहेको र निर्धारित समयमै पानी काठमाडौं पुग्नेमा ढुक्क हुन उपत्यकावासीलाई आग्रह गरे । उनले आयोजनाका स्थानीय भण्डार, सप्लायर्सलगायतको समस्या समाधान गर्ने प्रतिबद्धतापछि अहिले तीव्रगतिमा काम भइरहेकाले तोकिएकै मितिमा पानी उपत्यकामा पुग्ने बताए ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले सरकारको लक्ष्यअनुसार पानी पठाउने गरी काम भइरहेको जानकारी दिए । उनले अम्बाथानमा काम भइरहेको बताए । “दैनिक १६÷१७ घण्टा काम भइरहेको छ”, उनले भने । दैनिक १७ करोड लिटरका दरले काठमाडौं उपत्यकामा पानी वितरण गर्ने सरकारको तयारी छ । क्षतिग्रस्त संरचना मर्मतपछि वर्षायाम सकिने बित्तिकै पुनः उपत्यकामा पानी वितरण गरिने आयोजनाले जनाएको छ ।

मन्त्री यादवसँगै प्रदेशसभा सदस्य कौशलकिशोर राय, खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारी, मेलम्ची खानेपानी विकास समितिका सदस्य विष्णुमणि आचार्यलगायतले आयोजनाको मुहानस्थलबारे जानकारी लिएको थियो । यसअघि मेलम्ची खानेपानी विकास समितिले समयमै मेलम्चीको पानी खान पाउँ भनी काठमाडौंमा विरोध आन्दोलन भएपछि मिति तोकरै पुसको २८ गतेभित्र काठमाडौंमा मेलम्चीको पानी पथान्तरण गर्ने वाचा गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर