अनाहकमा दुई युवाको मृत्यृ, भविष्यमा रेमिट्यान्समा असरपर्ने सम्भावना

काठमाडौं ।  गृह मन्त्रालयले शुक्रबार ललितपुरको बालकुमारी क्षेत्रमा भएको प्रदर्शन, तोडफोड र आगजनीको विषयमा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो।

समिति सदस्यमा जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक वासु सिग्देल सदस्य छन् । छानबिन समितिलाई सत्यतथ्य पत्ता लगाएर सात दिनभित्र प्रतिवेदन मन्त्रालयमा पेश गर्न कार्यादेश दिएको छ। शुक्रबार बिहान ललितपुर महानगरपालिका-८ बालकुमारीमा कोरियन भाषा परीक्षा (इपिएस) फारम भर्न जम्मा भएका व्यक्तिले प्रदर्शन, तोडफोड, आगजनी गर्दा प्रहरीले स्थिति नियन्त्रणमा लिनेक्रममा दुई जनाको मृत्यु भएको थियो। प्रदर्शनपछि भएको आर्थिक, भौतिक एवम् मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै गृह मन्त्रालयले छानबिन समिति बनाएको हो। गृह मन्त्रालयले संयम अपनाएर शान्ति कायम गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुईजनाको मृत्यु

ललितपुरको बालकुमारीमा शुक्रबार भएको विरोध प्रदर्शनमा प्रहरीसँगको झडपमा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दैलेखका २३ वर्षीय सुजन रावत र डोटीका २२ वर्षीय वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए । रावतको किष्ट कलेज र शाहको पाटन अस्पतालमा मृत्यु भएको उनको भनाइ छ । दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साहको मृत्यु भएको हो।

मन्त्री ज्वालालाई प्रहरीको उद्धार

प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजनी गरेका थिए। भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए। लगत्तै उनीहरुले गाडीमा आगजनीसमेत गरेका थिए। मन्त्री सवार सवार गाडीको हावा खोलेर आगो लगाइएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा एकजना घाइने भएको जानकारी महानगरीय प्रहरी परिसर ललितपुरका वरिष्ठ उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिए ।
यसैगरी, केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले आज शुक्रबार रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको जानकारी दिए । उनले भने, “आन्दोलित युवाको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँचजना पक्राउ गरेका छौँ, मन्त्रीज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्‍याएको छ ।” ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर