धुलिखेल–खावा सडक खण्डमा यात्रुलाई सास्ती नै सास्ती

काठमाडौं ।  अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडक खण्ड ठेकेदारले समयमै विस्तार एवं स्तरोन्नतिको काम नगर्दा यात्रुले सास्ती भोग्नु परेको छ । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्नतिको काम गर्न सम्झौता भएको थियो । आगामी चैत्र १९ गतेभित्र निर्माण गरिसक्नुपर्ने गरी २०७९ जेठ २० गते २० करोड १९ लाखमा सम्झौता गरिएको थियो ।

धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तार एवं स्तरोन्नति सम्पन्न हुनुपर्ने समय तीन महिना बाँकी रहँदा जम्मा ३० प्रतिशत मात्र काम सम्पन्न भएको छ । समय मै उक्त सडकखण्ड निर्माण कार्य नसकिंदा यात्रुहरु मात्र नभइ स्थानीयबासी समेत मारमा परेका छन् । सो सडक खण्डमा धुवाँ धुलो, खाल्डा खुल्डी अनि धुलो नहोस् भनेर हालिएको पानीका कारण सडक हिलाम्मे हुँदा साना सवारीसाधन बढी मारमा परेको छ । घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे भएर यात्रुले सास्ती खेप्नुपरेको छ । अझ दुई पाङ्ग्रे सवारीसाधनमा यात्रा गर्नेलाई निकै कठिन हुने गर्दछ । पुनःनिर्माणका लागि सडक भत्काएपछि खाल्डाखुल्डीका कारण १९ महिनाको अवधिमा सयौं सवारी साधन दुर्घटनामा परी यात्रु घाइते भएका छन् ।

सरोकारवालासंगको छलफलमा पटक–पटक समयमा नै काम सकाउने प्रतिवद्धता जनाएपनि निर्माण व्यवसायीले कामलाई गति दिएको छैन । उक्त सडकखण्ड स्तरोन्नति तथा विस्तार गर्न डिभिजन कार्यालयले गौरी–पार्वती निर्माण सेवा प्रालिबीच सम्झौता गरेको थियो । कार्यालयकोका अनुसार उक्त सडकखण्डको ठेक्का लिएको निर्माण व्यवसायीले काममा ढिलाइ गरेका हुन् । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निर्माण व्यवसायी तथा सरोकारवाला निकायसँग पनि पटक–पटक छलफल गरेको थियो ।

ती सर्वपक्षीय बैठकमा सडक निर्माण तथा मर्मतसम्भारको काम यथाशीघ्र सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै आए पनि एक वर्षदेखि कामलाई तीव्रता दिइएको छैन । यो सडक खण्ड भएर दैनिक सयौ सवारीसाधन गुड्ने गर्छन भने रामेछाप, दोलखा, सिन्धुपाल्चोक एवम् छिमेकी मुलुक चीनको नाका लगायतका विभिन्न ठाउँका यात्रु ओहोर दोहोर गर्ने गर्दछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर