कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : अवसर नपाएकालाई मौका दिनुपर्नेमा जोड

काठमाडौं ।  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । सानेपास्थित केन्द्रीय कार्यालयमा बिहीबारदेखि सुरु भएको बैठकमा सरकारका मन्त्री र केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम चलिरहेको छ ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दोस्रो दिन बिहान ११ बजेबाट बैठक बस्ने जानकारी दिए । बैठकमा बिहीबारै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले राष्ट्रिय सभा निर्वाचन, सरकारको समीक्षा, महासमिति बैठकको तयारी, राष्ट्रिय मेलमिलाप दिवस र समुदायमा कांग्रेस अभियान लगायत विषयहरू एजेण्डाकारुपमा प्रस्तुत गरेका छन् ।

केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम रहने बताए । वर्तमान सरकारमा कांग्रेसबाट उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरूङसहित ९ जना नेताहरू मन्त्री छन् । बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीका तर्फबाट मन्त्री बनेकाहरूलाई कामको फेहरिस्त माग गर्ने र सुझाव दिने क्रम समेत छ । बिहीबारको बैठकमा नेताहरूले राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवार छनोट गर्दा पटक–पटक अवसर पाएकालाई होइन, अवसर नपाएकालाई मौका दिनुपर्नेमा जोड दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर