क्रिकेटर सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दामाथिको सुनुवाइ आज पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतमा भएको सुनुवाइमा सन्दीपको तर्फबाट दुईजना वकिलले बहस गर्न बाँकी भएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । उनीहरुले बहस सकेपछि जाहेरवालातर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि न्यायाधीशले फैसला सुनाउनेछन् ।

बुधबार वादी पक्षको सकिएकोमा आज प्रतिवादीतर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए । बिहीबार प्रतिवादीको तर्फबाट अधिवक्ताद्वय मुरारी सापकोटा र रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए । आइतबारदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइमा वादी नेपाल सरकार र जाहेरवालीको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका थिए

पहिलो दिन वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरू जिल्ला न्यायाधिवक्ता सीताराम अर्याल र सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरेका थिए । त्यसपछि हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा बुधबार जाहेरवालीका तर्फबाट ल्याक नेपाललगायतका संघ संस्थाका कानुन व्यवसायी र स्वतन्त्र अधिवक्ताहरूले बहस गरे ।

बुधबार अधिवक्ताहरू आस्मा आचार्य, नारायण चौलागाई, शशी अधिकारी, शान्ति काफ्ले, मोहना अन्सारी, अञ्जना अर्याल, प्रतिमा खरेल र ल्याक नेपालकी अध्यक्ष अनिता थपलिया गरी १० जनाले बहस सकाएका थिए । बुधवार नै प्रतिवादीका तर्फबाट अधिवक्ता मुरारी सापकोटाले बहस सुरु गरेका थिए । प्रतिवादीतर्फबाट पनि बहस सकिए मुद्दामाथिको सुनुवाइ भोलि नै टुङ्ग्याउने तयारी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर