स्टार्टअप विजनेसलाई उच्च प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूका निम्ति स्टार्टअप विजनेसलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन् । सिंहदरबारमा बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको मन्त्रालयगत छलफलमा प्रधानमन्त्रीले निर्देशन दिँदै भने, “नवप्रवर्तनशील सोच र जोश भएका नवयुवाहरूमा उद्यमशीलता प्रवर्द्धन गर्न विजनेस इन्कवेसन सेन्टरको माध्यमबाट सातै प्रदेश केन्द्रित व्यवसाय प्रवर्द्धन अभियान सञ्चालन गर्ने तयारी गर्नुहोला । स्टार्टअप फण्डको समेत परिचालन गरी वर्षेनी कम्तिमा २० हजार युवाहरूको नवीनतम सोचलाई वस्तु र सेवा उत्पादनमा जोड्ने तथा स्वरोजगारी, स्टार्टअप र विभिन्न व्यवसायले सिर्जना गर्ने रोजगारी मापनका लागि ‘जबमिटर’ को व्यवस्था गर्न विशेष योजना तयार गर्नुहोला ।”

प्रधानमन्त्रीले नेपाल सरकारका कूटनीतिक निकायलाई उद्योग तथा वाणिज्य प्रवर्द्धनमा केन्द्रित गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक योजना, संयन्त्र र कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने बताए । बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योग तथा वाणिज्य प्रवर्द्धनका लागि विनियोजित रकम थोरै हुँदा निर्धारित कार्यक्रम सञ्चालन गर्न बाधा पुगेको बताउँदै त्यसका लागि सरकारकै तर्फबाट एकीकृत समाधान खोजिनुपर्ने बताए ।

बैठकमा नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधनमा समेटिएका विषयहरू कार्ययोजना बनाएर कार्यान्वयनमा जान निर्देशन दिँदै अब उप्रान्त मन्त्रालयगत आंकडाका आधारमा मूल्याङ्कन हुने र औद्योगिक क्षेत्र घोषणा गरिएका क्षेत्रहरूको कामलाई प्राथमिकता दिएर काम गर्न सचिवहरूलाई निर्देशन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर