गठबन्धनको सरकारले सोचेअनुरूप सफलता हात पार्न सकेन : प्रमुख विश्वकर्मा

भक्तपुर । नेपाली कांग्रेसका सूचना तथा प्रचार प्रसार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धनको सरकारले सोचेअनुरूप सफलता हात पार्न नसकेको बताएका छन् ।

विश्वकर्माले विगतका सरकारले भन्दा गठबन्धनको सरकारले केही काम गरेता पनि सोचेअनुरूप काम गर्न नसकेको रफत सञ्चार क्लब भक्तपुरमा आयोजित सञ्चार–संवाद कार्यक्रममा बताएका हुन् । उनले भने, “वर्तमान सरकारले भ्रष्टाचारको फाइल खोल्छु भन्नु, फाइल खोल्ने नियमन गर्ने कार्यालय चुप लागेर बस्ने र जनता भ्रष्टाचार भइरह्यो भनेर कराइरहने विषयमा तालमेल मिल्न सकेको छैन ।”

विश्वकर्माले लुम्बिनीका उद्योगमन्त्रीका विषयमा जनताले प्रदेशसभा सदस्य जिताएर पठाउँदासम्म कसैले केही नभनेको र कुनै कमजोरी वा उजुरी नपरेको भएता पनि हाल जनताले अनुमोदन गरेर पठाएका प्रदेश सभासदमाथि मन्त्री बन्नसाथ अनावश्यक आरोप लगाएको उल्लेख गरे । उनले भने, “आरोप तथ्यका आधारमा साबित भए लुम्बिनीका उद्योगमन्त्री कारवाहीको भागी हुनेछ तर आरोप तथ्यमा आधारित नभएको अवस्थामा अनावश्यक मिडियाबाजी गरी चरित्र हत्या गर्न हुँदैन ।”

बजारमा चर्चाअनुसार आर्थिक अवस्था डाँमाडोल नभएको र अर्थतन्त्र क्रमिक रूपमा सुधार हुँदै गएको बताउँदै उनले भने, “अर्थतन्त्र परनिर्भताकै कारण सोचेअनुसार सुधार हुन नसकेको मात्र हो ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रलाई गरेको सम्बोधनको पूर्ण पाठमा मन्त्री फेरबदल गरेर भए पनि आफ्नो कार्यकाल सफल बनाउँछु भन्नु सकारात्मक सन्देश रहेको उनको भनाइ थियो । विश्वकर्माले सोचेअनुरूप काम हुन नसकेको प्रधानमन्त्रीआफैँले बताएको बेला धेरै टीकाटिप्पणी गर्नु उपयुक्त नहुने उनको विचार रहेको छ ।

पुराना राजनीतिक दलहरुलाई आक्षेप लगाएर गणतन्त्रको उपलब्धिमा प्रश्न उठाउनेहरूले देशमा अराजकता फैलाउन खोजेको उनको आरोप छ । नेपालको कूटनीतिक पाटो मौसमी रहेता पनि गठबन्धनको सरकार गठनपश्चात् कूटनीतिक क्षेत्र सबल बन्दै गएको र केही सुधारको पक्ष देखिएको पछिल्ला अन्तर्राष्ट्रिय स्तरमा नेपाल सरकारले जनाएको उपस्थितिबाट प्रस्टिने विश्वकर्माको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर