शरणार्थी शिविरमा इजरायलको आक्रमण, ७० जनाको मृत्यु
काठमाडाैं । गाजापट्टीको अल मगाजी शरणार्थी शिविरमा इजरायलले गरेको हवाइ हमलामा ७० जनाको मृत्यु भएको छ ।
हमासद्धारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार ठुलो संख्यामा शरण लिएर बसेको उक्त शरणार्थी शिविरमा भएको आक्रमणमा थुप्रै घाइते भएको र उनीहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
घाइतेहरुलाई गाजाको अल अक्सा अस्पतालमा लगिएको दृश्यमा बालबालिकाको अनुहारमा रगत लतपतिएको देखिएको छ । आक्रमणले सो शिविर वरिपरीको ३ वटा घरमा पनि क्षति पुगेको छ ।
यसअघि इजरायलले अघिल्लो दिन गरेको आक्रमणबाट गाजापट्टीमा १६६ जना प्यालेस्टानी मारिएका छन् । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार घटनामा आक्रमणबाट ३८४ जना घाइते भएका छन् ।
गत अक्टोबर ७ यता इजरायली आक्रमणमा परी १०३ जना पत्रकार समेत मारिनुका साथै दर्जनौं पत्रकार घाइते भएका छन् । मारिनेमा गाजापट्टीमा कार्यरत संयुक्त राष्ट्रसंघका कर्मचारीका परिवारका पनि ७० जनाभन्दा बढी रहेका छन् ।
युद्धविरामका लागि पश्चिमा राष्ट्रहरुले गरेको बारम्बारको आग्रहलाई बेवास्ता गर्दै आएको इजरायलले गाजामा स्थलगत र हवाइ आक्रमणलाई तीब्रता दिंदै आएको छ । एजेन्सी