सभापतिमाथि खोया प्रहारको समाचार प्रसार “अत्यन्तै निकृष्ट” रास्वपा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले के कति कारणले  पोखरामा सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार गरेको हो नखुलेको बताएको छ ।

पुस ७ गते पोखराको अमरसिंह चोकमा भएको सभामा मन्तव्य दिँदै गर्दा सभापति लामिछानेमाथि मकैको खोया प्रहार घटनामा केही सञ्चारमाध्यमले ’अत्यन्तै निकृष्ट’ रूपमा प्रचार गरेको महामन्त्री डा. मुकुल ढकालले आइतबार विज्ञप्ति निकालेर उल्लेख गरेका छन् । सभापति लामिछानेलाई मकैको खोयाले आक्रमण गरेको आरोपमा ३७ वर्षीय सन्तोष रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

‘तथ्यलाई पूरै बेवास्ता गर्दै असान्दर्भिक विषय जोडेर प्रवाह गरिएका समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन्, ‘सार्वजनिक व्यक्ति भएकाले नेता विशेषको आलोचना वा तिनकाप्रति जनप्रतिक्रिया आउनु स्वभाविक हो। यद्यपि पोखरामा के कति कारणले ती व्यक्तिले सभापति लामिछानेलाई प्रहार गरे भन्ने खुलेको छैन। यसबारे न प्रहरीले प्रहारकर्तालाई उधृत गर्दै सार्वजनिक जानकारी दिएको छ, न प्रहारकर्ताले नै कारण खुलाएका छन्। सभापति लामिछानेसँग त झनै सोधिएको छैन। आधिकारिक स्रोतले केही जानकारी नदिँदा–नदिँदै अनुमानका आधारमा सभापति लामिछानेको चरित्र हत्या गर्ने दुरासयका साथ प्रेषित गरिएका समाचारहरुप्रति खेद व्यक्त गर्दछौं ।’

महामन्त्री ढकालले पारटी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् । ‘भ्रमपूर्ण समाचार प्रेषित गर्नु स्वतन्त्र पत्रकारिताको मर्म विपरीत हो । हिजोका घटनालाई लिएर केही सञ्चारमाध्यमले भ्रमपूर्ण समाचार प्रेषित गरेर सभापति लामिछानेको चरित्रहत्यासँगै सिङ्गो पार्टीको उदीयमान छविलाई धुमिल बनाउने प्रयास पनि गरेका छन्,’ उनले भनेका छन्, ‘हिजोको घटाना वा सन्दर्भमा लेखिएका कपोलकल्पित र भ्रमपूर्ण समाचारको खण्डन गर्दै समाचारहरुमा उल्लेख गरिएका विवरण तथ्यसंगत पुष्टि गर्न अन्थया प्रचलित कानूनी प्रक्रियाको सामनाका लागि तयार रहन सम्बन्धित सबै सञ्चारमाध्यमलाई सचेत पनि गराउँछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर