प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् । शनिबार बागमती प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग उठेको भन्दै प्रदेश सरकारले राखेका मागहरू पूरा गर्न आग्रह गरे । उनले कांग्रेस महासमिति बैठकसम्म अधिकार सम्पन्न बनाउने गरी कानुन आएन भने महासमितिको बैठकबाट निर्णय गरेर कांग्रेसले सिंहदरबार घेर्ने बताए । उनले प्रदेश सरकारले आफ्नो अधिकार मागेकाले अधिकार दिन कन्जुस्याँई नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे ।

उनले भने, ‘सबै प्रदेश सम्मेलनमा जाँदा एउटा प्रधान कुरा के छ भने, त्यो गुनासो के छ भने प्रदेश बन्यो तर अधिकार दिइएन । यदी स्थानीय तहलाई अधिकार चाँडो दिने गरी निजामती सम्बन्धी, लोकसेवा सम्बन्धी, आर्थिक सम्बन्धी कानून, प्रहरी सम्बन्धी कानून यी सबै निर्माण गरेर अधिकार सम्पन्न बनाइन्न भने हामी सिंहदरबार घेर्छौं भन्नुभएको छ, आज प्रधानमन्त्रीजीलाई म यहीँबाट नेपाली कांग्रेस पार्टीको महामन्त्रीको हैसियतले भन्छु, कांग्रेसको महासमितिको बैठक हुँदासम्म त्यो अधिकार सम्पन्न बनाउने गरी कानुन आएन भने महासमितिको बैठकबाट निर्णय गरेर हामी खुद सिंहदरबार घेर्नका लागि प्रदेशका साथीहरुसहित उपस्थित हुनेछौँ ।’

महामन्त्री शर्माले रुस—युक्रेनको सेनामा अवैधानिक रुपले नेपालीहरूलाई पुर्याउनेहरुलाई कारबाही गर्नुपर्ने बताए । उनले युद्धमा मृत्यु नेपालीहरुको शव गनेर बसेर मात्रै राज्यको कर्तव्य पूरा नहुने भन्दै त्यहाँका राजदूतलाई कुरा गरेर वा सम्बन्धित निकायहरूसँग कुरा गरेर यस विषयलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर