म्याग्दीको झीँ गाउँमा लोकल एस अन्य बात…..
काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झीँ गाउँमा आयातित मदिरालाई निषेध गरिएको छ।
युवा कुलतमा फस्ने र धनराशि गाउँबाट बाहिर जाने समस्यालाई हटाउन गाउँभेलाबाट झीँ गाउँमा आयातित मदिरा बिक्रीवितरणमा रोक लगाइएको हो। परीक्षणका रुपमा एक वर्षअघि देखि लागू गरिएको उक्त नियमका कारण गाउँमा मदिरा भित्रिएर बाहिरिने लाखौँ रुपैयाँ जोगिएको स्थानीयवासी बताउँछन्।
२०७९ मंसिर १६ गते झीँ गाउँमा जनप्रतिनिधि, आमा समूह, युवा क्लब, संघसंस्था, स्थानीय व्यवसायीलगायत सरोकारवालाहरुको भेलाले सर्वसम्मत रुपमा आयातित मदिरालाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार गाउँमा रहेका सबै होटल तथा पसलले सहरबाट मदिरा गाउँमा लैजान बन्द गरेका छन्।
विभिन्न कम्पनीका रक्सी र बियर गाउँमा भित्रँदा युवा कुलतमा फस्ने र धनराशिसमेत मासिने भएपछि गाउँमा उक्त नियम बनाइएको रघुगंगा गाउँपालिका–५ का वडाअध्यक्ष मनबहादुर शेरमञ्जाले बताए। ‘बाहिरबाट आयात गरिएका कतिपय रक्सीको गुणस्तर नहुँदा धेरै जनालाई विभिन्न रोग पनि लाग्यो, महँगा मदिरा सेवन गर्दा ठूलो धनराशि गाउँबाट बाहिरियो, गाउँमा सामाजिक सुधारअन्तर्गत यो नियम बनाएर लागू गरेको एक वर्षमै यसले धेरै सकारात्मक प्रभाव पारेको छ’, उनले भने।
सबैभन्दा कमजोर आर्थिक अवस्था भएकाहरुले बजारबाट आउने करुवा लगायतका गुणस्तर नभएका मदिराजन्य पेय पदार्थको प्रयोग गर्दा धेरैको स्वास्थ्यमा समेत जटिल रोगहरु लागेपछि स्थानीयवासी मदिरा नियन्त्रणमा सक्रिय भएका थिए। मदिरा सेवन गर्नेहरुलाई गाउँमै स्तरीय घरेलु मदिरा बनाएर सेवन गर्न पाउने सुविधा दिइएको छ।
युवा घरेलु मदिरा सेवन गर्न सहजै रुपमा तयार नहुने र बाहिरबाट कुनै पनि प्रकारका मदिराजन्य पदार्थ गाउँमा नभित्रने भएकाले युवालाई समेत कुलतबाट टाढै राख्न सघाउ पुगेको स्थानीय समाजसेवी गोविन्द पाइजाले बताए। विवाह, व्रतबन्ध, किरियालगायत संस्कारजन्य कार्यमा समेत मदिरामा धेरै रकम खर्च हुने गरेकामा आयातित मदिरालाई निषेध गरेपछि फजुल खर्च बचत हुने गरेको छ। गाउँमा हुने यस्ता संस्कारजन्य कार्यमा बजारबाट आयातित पेय पदार्थहरुको समेत प्रयोगलाई हटाइएको छ।
गत वर्ष आफ्नो छोरी सुस्मा पाइजा पुनको विवाहबाट यो नियमलाई समेत गाउँमा कार्यान्वनयमा ल्याइएको समाजसेवी पाइजाले बताए। गाउँमा आयातिय मदिरा र संस्कारजन्य कार्यमा चिसो पेय पदार्थहरुलाई प्रयोगमा निषेध गरेपछि एउटा विवाहमा एकदेखि दुई लाखसम्म फजुल खर्च कटौती हुने गरेको उनले अनुभव सुनाए। मगर समुदायको बाहुल्य बसोबास रहेको झीं गाउँमा करिब तीन सय ४० घरधुरी रहेका छन्। धौलागिरि सेन्चुरी पदमार्गको पहिलो पर्यटकीय गाउँका रुपमा परिचित झीं गाउँमा घरबाससमेत सञ्चालनमा छ।