छानबिन समिति बनाए चिनियाँ जहाज लिलामीको ठेक्का फिर्ता लिन्छु : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले छानबिन समिति बनाए चिनियाँ जहाज लिलामीको ठेक्का फिर्ता लिने बताएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बिहीबार बसेको बैठकमा मन्त्री किरातीले चिनियाँ जहाजबारे छानबिन गर्न संसदीय समिति बनाए जहाज लिलामीको ठेक्का फिर्ता लिने बताए । नेपाल वायु सेवा निगमले आजै पाँच वटा चिनियाँ जहाज बेच्न ठेक्का आह्वान गरेको थियो ।

सांसदहरूको जिज्ञासाबारे जवाफ दिँदै मन्त्री किरातीले दोषीलाई कारबाही गर्नेगरी छानबिन समिति बनाए लिलामीको ठेक्का फिर्ता गर्ने प्रतिबद्धता जनाए । उनले वर्षमा २० करोड रुपैयाँभन्दा बढी घाटा बेहोरेर चिनियाँ जहाज राखिरहेको र अब पनि घाटा बेहोरेर जहाज राखिरहन नसक्ने भएकाले लिलामी गर्न खोजेको बताए ।

उनले भने, ‘चिनियाँ जहाज सेतो हात्ती भयो, सेतो हात्ती भयो भनेर संसद् थर्काउने हामी त हो । हामी नै हो संसद्, पत्रपत्रिका, चिया पसलमा बोल्ने ? निकास देऔँ भनेर टेन्डर निकाल्यो फेरि किन निकाल्यो भन्छन् ? गर्नु के ? यो टेन्डर चाहिँ केही न केही बहस होस् भनेर नै निकालिएको हो । कि त अब उपाय निकालियोस् यो समितिले । छानबिन समिति बनाइदिनुहोस् न त हामी फिर्ता गरिहाल्छौँ नि । तर दोषीलाई कारबाही गर्नेगरी । कर्मकाण्डी होइन ।’

मन्त्री किरातीले देशका लागि काम गर्न खोज्दा काम गर्न नपाएको गुनासो गरे । उनले केही नयाँ काम गर्न लाग्दा अख्तियारदेखि अदालतसम्म धाउनुपर्ने अवस्था रहेको बताए । उनले कामका लागि अघि बढ्दा बढ्दै जुत्ता फाटिसक्ने भन्दै काम गर्ने वातावरण नभएको दुःखेसो पोखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर