दैनिक चार घन्टा बन्द हुँदै नारायणगढ–मुग्लिन सडकखण्ड
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घन्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) ले आज एक सूचना जारी गरेर जनाएको हो । नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छन्भने मालवाहक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिने छन् ।
यसैगरी, काठमाडौँबाट आउने यात्रुवाहक सवारीसाधन मुग्लिन बजारदेखि मनकामना केवलकारसम्म र मालवाहक सवारीसधान लेवाटारमा रोक्नुपर्नेछ । पोखराबाट आउने यात्रुवाहक सवारीसाधन वेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारीसाधनलाई सत्रसय फाँटमा रोक्नुपर्ने आयोजनाले जनाएको छ । उक्त सडकका १९ वटा पुलमध्ये चार वटा चार वर्ष अघि निर्माण भएका हुन्भने बाँकी १५ पुलको काम एकै साथ थालिएको थियो ।