मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता

काठमाडौं ।  निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिएको छ । सङ्कलन गरिएको नामावली यसै साता सार्वजनिक गर्ने आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन कार्यालय र प्रदेश सभा सचिवालयबाट पठाइएको नामावली रुजु गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख एवं अध्यक्ष र उपाध्यक्ष मतदाता रहने कानुनी व्यवस्था छ ।

सात वटै प्रदेशका ५५० प्रदेश सभा सदस्य मतदाता रहने व्यवस्था छ । ७५३ स्थानीय तहका एक हजार ५०६ जना प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष राष्ट्रिय सभाका मतदाता छन् । आयोगका प्रवक्ता पौडेलले भने, “प्रदेशसभा र स्थानीय तहमा मृत्यु भएका र निलम्बनमा परेकाको अध्ययन हुँदै छ । रुजु भइसकेपछि आयोगले सार्वजनिक गर्ने छ ।” आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रमबमोजिम पुस २० गते मतदाता नामावली प्रकाशन हुनुपर्ने छ । उनले सात वटै प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयले कार्यक्रमबमोजिम नै प्रकाशन गर्ने भए पनि आयोगले त्रुटि सच्याउन वेबसाइटमा राख्न लागेको बताए ।

आयोगको कार्यक्रमबमोजिम सम्बन्धित प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुस २२ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुने छ । त्यसअघि पुस २० गते प्रकाशन भएको नामावलीउपर दाबीविरोधका लागि उजुरी दिन सक्ने कार्यक्रम छ । यसरी परेको उजुरीमाथि निर्वाचन अधिकृतको कार्यालयले छानबिन गरी अन्तिम निर्णय गर्नेछ । राष्ट्रियसभा सदस्यमा पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १९ एवं प्रदेशसभा सदस्यको मतभार ५३ कायम गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर