राजसंस्था, हिन्दु राष्ट्र स्थापना र प्रदेश खारेज गर्न राप्रपा आन्दोलनमा जाने निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थासहितको हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि देशभर आन्दोलन गर्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय कार्यसमितिको आइतबारदेखि मंगलबारसम्म बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले पुस, माघ महिनाभरमा देशभर सभा र तयारीका कामहरु गर्ने पनि निर्णय गरेको छ । फागुन महिनामा मेची–महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको छ । त्यस्तै आन्दोलनका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरेको छ ।

डा. धवलशमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति, पार्टीका कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति, प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठको संयोजकत्वमा प्रचार तथा प्रसार समिति गठन गरेको छ । बैठकमा पार्टी कोषाध्यक्षढारा प्रस्तुत आर्थिक प्रतिवेदन, सचिवालयका प्रतिवेदनलगायत प्रदेश कार्य समितिका प्रतिवेदनहरु परिमार्जनसहित पारित गर्ने निर्णय भएको अध्यक्ष लिङदेनले बताए ।

 

उनकाअनुसार बैठकले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प प्रभावित परिवारहरुलाई तत्काल पालबाट अस्थायी आवासमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । उनले भने, ‘मुलुकको बिग्रदो अर्थतन्त्र, आम जनतामा बढ्दो निराशा, चरम बेरोजगारी, आर्थिक मन्दीका कारण साना किसान तथा उद्यमीहरूमाथिको बढ्दो ऋणभार, युवा शक्तिको विदेश पलायन, भष्ट्राचारलगायत जनजीविकाका मुद्दाहरुका साथै राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि व्यापक जनदवाब सिर्जना गर्न बृहत् आन्दोलन गर्ने निर्णय गरिएको छ ।

बैठकले आन्दोलनका लागि समान विचार राख्ने दलहरु, अभियान तथा धार्मिक सङ्घ, संगठन, उद्योगी, व्यावसायी, विभिन्न पेशाकर्मीहरु, बुद्धिजीवी एवं देशभित्र र देशबाहिर रहेका सम्पूर्ण राष्ट्रवादी नेपालीलाई शरीक हुन राप्रपाले आह्वान गरेको छ। नवीन राप्रपा कार्ययोजनाका बाँकी कार्यहरु पनि आन्दोलनको अंगको रुपमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ । गरिएको छ । पार्टीका अध्यक्ष लिङदेनको आन्दोलन मूल समितिमा केन्द्रीय कार्य समितिका सबै पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु रहने राप्रपाले जनाएको छ ।

 

यससैगरी बैठकले एनसेल अजियाटाको शेयर बिक्रीमा भएको भ्रष्टाचारको विरोध गर्दै उच्चस्तरीय छानबिन गर्न माग गरेको छ । त्यस्तै रुस युक्रेन युद्धमा होमिएका नेपाली युवा फिर्ता गर्न तथा हमासको कब्जामा रहेका विपिन जोशी एवं युक्रेनको नियन्त्रणमा रहेका नेपालीहरुको शीघ्र रिहाइको प्रभावकारी कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्ने पनि निर्णय गरेको छ । (तस्बिरःफाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर