महानगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय सरकार नगरवासीलाई स्वच्छ खानेपानी व्यवस्था गर्न प्रतिबद्ध रहेको बताएका छन् । ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले खानेपानी समस्याको निराकरणका लागि सङ्घीय सरकार यहाँहरूकै साथमा रही नगरवासीलाई स्वच्छ खानेपानी व्यवस्था गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भौतिक एवम् मानवीय विकासका अन्य पक्षमा पनि सङ्घीय सरकारको तर्फबाट आवश्यक समन्वय र सहयोग रहने बताए । प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका सन्दर्भमा गम्भीरतापूर्वक छलफल भइरहेको जानकारी पनि दिए ।

उपत्यकाको विकास एकै पटक हुनुपर्छ : प्रमुख साह

यसैगरी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको विकास एकै पटक हुनुपर्ने बताए । ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य दिँदै उनले उपत्यकाको सुन्दरतालाई बढाउन उपत्यकाका सबै महानगरपालिकाको विकास एकैपटक हुनुपर्ने बताए । उनले उपत्यकाको विकास एकैपटक गर्नका लागि सङ्घीय र स्थानीय कानुन बाझिएका कारण असहज भएको औंल्याए । ।

‘‘“काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका दुई वटा एक आपसमा परस्पर सम्बन्ध भएका महानगरपालिका हुन् । काठमाडौं एक्लै बनेर पनि उपत्यका राम्रो देखिँदैन, ललितपुर एक्लै बनेर पनि उपत्यका राम्रो देखिँदैन । काठमाडौं उपत्यका बाहिरका मानिसहरुलाई काठमाडौं उपत्यका एउटै हो जस्तो लाग्छ । ललितपुर आएपनि काठमाडौं जस्तो लाग्छ, काठमाडौं गएपनि ललितपुर जस्तो लाग्छ ।,’’ उनले भने, ‘‘त्यसैले सम्पूर्ण उपत्यकाको विकास एकै पटक हुनुपर्छ । कोही पहिलो, दोस्रो, तेस्रो भन्दा पनि एकैपटक सबै पालिकाहरु अघि बढ्नुपर्छ । त्यो बढ्न, प्रमुख, उपप्रमुख बसेर छलफल गर्दा पनि सक्छौँ तर केही कुराहरु सङ्घीय कानुन र स्थानीय कानुनमा बाझिएका छन् ।’’

उनले सङ्घीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भइरहेकाले फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि कानुनको बाधा अड्चन फुकाइदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष आग्रह गरे । उनले काठमाडौंको खोला अतिक्रमणमा सरकारले आवश्यक पहल गर्न आग्रह गरे ।

‘“जस्तै फोहोर व्यवस्थापन बञ्चरे डाँडामा गर्दै आएका छौँ । त्यसलाई स्थानीय सरकार आफैँले गर्नेकुरालाई बाधा अड्चन परेको छ, कानूनी बाधा अड्चन फुकाइदिनुहुन सम्माननीयज्युलाई आग्रह र अनुरोध गरेँ । जसकारण उपत्यकाको फोहोर व्यवस्थापन पाँच होइन, ५० होइन सयौँ वर्षका लागि दीर्घकालीन होस् भन्ने चाहना छ । काठमाडौंमा खोला अतिक्रमण छ, ललितपुरमा छैन, काठमाडौंमा फुटपाथ अतिक्रमण छैन, ललितपुरमा छ, एकदिन सबै फुक्छ ।,’’ प्रमुख साहले भने, ‘‘कुनै अतिक्रमण स्थानीय तहले रोक्न सक्छौँ तर खोला अतिक्रमण सम्माननीयज्युले चाहनुभयो भने अर्को कार्यक्रममा जान लाग्ने समयजतिमा समाधान हुन्छ । पाँच मिनेटदेखि एक घण्टामा मात्रै सकिन्छ । त्यो मेयरहरुले मात्रै सक्दैन । ललितपुरसँगै काठमाडौं पनि बराबर उज्यालो होस् । हामीले गर्ने काम हाम्रो कर्तव्य हो । त्यसैअनुसार बुझ्नुपर्छ ।’’

प्रमुख साहले काठमाडौं महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले तीन तहकै सरकारले आवश्यक छलफल र समन्वय गरी अघि बढ्ने हो भने उपत्यकाको विकास चाँडो हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर