सजिलै पाटे बाघ हेर्ने इच्छा छ भने चितवन जाऔंं !

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने जो कोहीले अब सजिलैसँग बाघ हेर्न पाइने भएको छ । भरतपुरतर्फबाट निकुञ्ज घुम्न जानेले बाटोमै बाघ हेर्न पाइने भएको छ । यो अवसर भरतपुर भ्रमण वर्षले दिन लागेको हो ।

निकुञ्जभित्र एक सय २८ वयस्क पाटेबाघ रहेको तथ्याङ्क छ । यद्यपि निकै कमले मात्रै निकुञ्ज घुम्दै गर्दा बाघ देख्न पाउँछन् । गतवर्ष निकुञ्जमा दुई लाख २५ हजार हाराहारी पर्यटक आउँदा बाघ देखेँ भन्नेको सङ्ख्या निकै कम थियो । भरतपुर महानगरपालिका–६ देवनगरस्थित निकुञ्जको रेञ्जपोष्ट क्षेत्रमा दक्षिणकाली सामुदायिक वनभित्र वन्यजन्तु उद्धार केन्द्रमा बाघ देखाउन लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सकेसम्म सन् २०२४ जनवरी १ तारिखबाट नै पर्यटकका लागि बाघ देखाउने तयारी गरिएको छ । बन्दै गरेको खोर र मचान सम्पन्न गर्न दुई चार दिन ढिलो भए पनि पुस महिनाभित्र नै बाघ देखाउने तयारी छ ।

उनले भने, “अब यहाँ आउने पर्यटकलाई बाघ हेर्न धेरै दिन कुर्नुपर्दैन ।” निकुञ्जले ५० लाखमा बाघका लागि पक्की खोर बनाउँदै छ । भरतपुर महानगरपालिकाले अर्को ५० लाख थप गरेर सडक र दुई मचान घर बनाउँदैछ । बीस हजारी ताल व्यवस्थापन बोर्डले टिकट काटेर बाघ देखाउने व्यवस्थापन गर्दैछ । टिकटबाट उठेको पैसाले बाघको पालनपोषण गरिनेछ ।

निकुञ्जको कसरामा चार वटा र सौराहामा दुईवटा बाघ छन् । तिनैमध्येका एक वा थप नियन्त्रणमा लिनुपर्ने अवस्था आएमा अर्को बाघ खोरमा राखेर देखाइँदैछ । त्यही उद्धार केन्द्रमा गैँडा, हात्तीलगायतका वन्यजन्तु उद्धार गरेर ल्याइँदैछ । तिनीहरूको संरक्षणसँगै पर्यटकका लागि गन्तव्य बनाउन लागिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले भरतपुर भ्रमण वर्षमा यहाँ आउने पर्यटकका लागि दुर्लभ पाटे बाघ देखाउन लागिएको बताइन् ।

महानगरको अनुरोधमा निकुञ्जले बाघ हेर्ने व्यवस्था मिलाउन लागेको उनले बताइन् । उनले भनिन्, “वन्यजन्तु उद्धार केन्द्रमा हेर्नका लागि मचान र पुग्नका लागि सडकको व्यवस्थापन महानगरले गरिरहेको छ ।” भरतपुर महानगरपालिकाको धेरै भागले निकुञ्ज छुने गर्दछ । यहाँको कसरा र मेघौलीबाट निकुञ्ज प्रवेश गर्न सकिन्छ । पर्या–पर्यटनका हिसाबले निकै महत्त्वपूर्ण भएर पनि आवश्यक प्रचार नहुँदा पछि परेको महसुस गर्दै भ्रमण वर्षको आयोजना गरेको हो ।

महानगरको निकुञ्जसँगको राप्ती नदी तटीय क्षेत्रमा पर्यटकीय सुविधा सम्पन्न होटल छन् । शान्त र रमणीय ठाउँ भएका कारण पछिल्लो समय निकुञ्ज घुम्न आउने पर्यटक यसै क्षेत्रमा आउने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर