जागृत हुन थाल्यो घरजग्गा कारोवार, राजस्वमा पौने अर्ब वृद्धि

काठमाडौं ।  सरकारले तीन महिनाअघि घरजग्गा कित्ताकाट खुलाए पनि चाडबाड र आर्थिक शिथिलताका कारण सुस्ताएकाहरू मंसिरमा भने जागृत भएका छन्‌ । कात्तिकको तुलनामा मंसिरमा झण्डै १६ हजार घरजग्गा किनबेचको लिखत पारित भएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार कात्तिकमा २६ हजार ४६ लिखत पारित भएकोमा मंसिरमा ४१ हजार ८५१ लिखत पारित भएको हो । मंसिर महिनामा घरजग्गा कारोबारबाट राज्यलाई प्राप्त हुने राजस्व पनि झण्डै पौने अर्ब रुपैयाँ बढेको छ ।

विभागका अनुसार मंसिरमा देशभरका मालपोत कार्यालयहरूमा घरजग्गा किनबेचबापत दुई अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको छ । कात्तिकमा यस्तो राजस्व २ अर्ब १६ करोड रुपैयाँ संकलन भएको थियो । सरकारले घरजग्गा कारोबार बढाउन यसबीचमा मौद्रिक उपकरण लचिलो बनाउनेसम्मको काम गरेको छ । तर, आर्थिक शिथिलता र सम्भावित मन्दीका कारण आम नागरिकले अझै अपेक्षाअनुसार घरजग्गामा लगानी गरिरहेका छैनन्‌ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर