काभ्रे–हेटौंडा जोड्ने छोटो दुरीको सडकको शिलान्यास

काठमाडौं । बाग्मती प्रदेशको राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक शिलान्यास गरिएको छ । वीपी राजमार्गको कटुञ्जेदेखि खार्पाचोक–लेखपानी–सुँगुरे–बुढाखानी–फोक्सिङटार–गोकुले–तालढुंगा हुँदै हेटौंडा जाने प्रादेशिक सडक शिलान्यास गरिएको हो ।
बाग्मती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा, प्रदेशका पूर्वमन्त्री समेत रहेका प्रदेश सभा सदस्य रत्न ढकालले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
बाग्मती प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले तीन तहका सरकारमा योजनामा दोहोरोपना नहुने भन्दै सबैले देखिने, सुनिने र अनुभव गर्ने खालका आयोजना थालिने बताए । उनले शिलान्यास गरिएको सडकको लागि स्रोत सुनिश्चित भइसकेकोले बेलैमा निर्माण सकिनेमा विश्वस्त हुन अनुरोध गरे ।
भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले प्रदेशको एकल स्रोतमा ठेक्का लागेको प्रदेशकै ठूलो बजेट भएको योजना भएको जानकारी दिँदै भौगोलिक विकट र धेरै जनसंख्याका आधारमा बागमती प्रदेशका जिल्लामध्ये काभ्रेमा धेरै बजेट बिनियोजन भएको बताए ।
खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामाले १०–१२ वर्षअघि चन्दा उठाएर सुरु गरिएको सडक निर्माण गर्ने सपना साकार भएको बताए । प्रदेश सभा सदस्य रत्न ढकालले रणनीतिक महत्त्वको सडक भएको भन्दै क्षेत्र नम्बर १ का अन्य सडक पनि क्रमशः स्तरोन्नति गरिने जानकारी दिए ।
पूर्वाधार विकास कार्यालय धुलिखेलमार्फत पहिलो चरणमा १५ किलोमिटर सडक स्तरोन्नतिको लागि ठेक्का आव्हान भएको थियो । रिटेनिङ वाल, स्ल्याब कलभर्ट, ह्युमपाइप कल्भर्टलगायतका संरचना निर्माण हुने गरी ५१ करोड ४४ लाख लागतमा निर्माण व्यवसायी सिद्ध बाबा–ग्रीन तारा जेभीले ठेक्का सकारेको हो । बागमती प्रदेश सरकारले आयोजनाको लागि गत आर्थिक वर्षमा नै ९४ करोड ६९ लाख स्रोत सुनिश्चित गरेको छ । चालु आर्थिक वर्षको लागि ७ करोड विनियोजन भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर