व्यवस्था उल्ट्याउन खोज्नेविरुद्ध जनस्तरबाटै प्रतिरोध आवश्यक : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको व्यवस्था उल्ट्याउन खोज्ने तत्वहरुविरुद्ध जनस्तरबाटै प्रतिरोध आवश्यक रहेको बताएका छन् । ललितपुरको थेचोमा नवदुर्गा भवानीदेवी १२ वर्षे जात्रा समापन समारोहमा प्रधानमन्त्री प्रचण्डले संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम छर्ने दुस्साहस भइरहेको भन्दै त्यसको विरुद्धमा जनस्तरबाट प्रतिरोध आवश्यक रहेको बताएका हुन् ।
“अहिले देशमा एकथरी तत्वहरू सांस्कृतिक विविधता, समुदायको पहिचान र अधिकारलाई संस्थागत गरिएको संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम छर्ने दुस्साहस गरिरहेका छन्”, उनले भने, “लोकतन्त्रमा मात्रै सबै संस्कृति समानरूपमा मौलाउन र विकास हुन सक्छन् । त्यसैले संस्कृति रक्षाका लागि, पहिचान, सम्मान र न्यायमा आधारित समाज निर्माण गर्न अहिलेको व्ववस्था उल्ट्याउन खोज्ने तत्वहरुविरुद्ध सङ्घर्ष गर्ने र जनस्तरबाटै प्रतिरोध आवश्यक छ ।”
प्रधानमन्त्री प्रचण्डले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताए । उनले यो भावलाई सदैव दृढताका साथ सङ्कल्प गरी अघि बढ्नुको विकल्प नभएको उल्लेख गरे । “नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । हाम्रा समृद्धशाली मूर्त र अमूर्त सांस्कृतिक धरोहर सम्पदा राष्ट्रिय एकता सबलीकरण गर्ने विशिष्ट माध्यमका रूपमा परिचित छन् । यी सांस्कृतिक परम्पराहरूले नेपालको राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउन अहम् भूमिका खेलेका छन्” प्रधानमन्त्रीले भने ।
नेपालको संविधानले नै धार्मिक स्वतन्त्रता कायम गरी प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण गर्ने हकको व्यवस्था गरेको उनले उल्लेख गरे ।
उनले धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले अनेकौँ सामर्थ्य र सम्भावनाको केन्द्र रहेको गोदावरी नगरपालिकामा आयोजना हुने ऐतिहासिक महत्वको १२ वर्षे नवदुर्गा जात्राको भव्य सफलताको कामना गरे । कार्यक्रममा नवदुर्गा भवानीसँग सम्बन्धित विभिन्न नाच प्रस्तुत गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर