मणिपालबाट सम्पर्कविहीन युवकको शव सेतीमा फेला

काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालबाट सम्पर्कविहीन तनहुँका एक बिरामी युवकको शव सेती नदीको ड्याम खोलेर खोजी गर्ने क्रममा पोखरा–३, नदीपुरमा भन्ने ठाउँमा फेला परेको छ ।

उपचारका लागि मणिपाल अस्पतालमा भर्ना भएका १९ वर्षीय सङ्गम मिश्र गत सोमबार साँझ साढे ६ बजेदेखि सम्पर्कविहीन भएको थियो । मणिपालको आकस्मिक कक्षमा उपचाररत सङ्गम आफ्ना बुवा हरिप्रसाद औषधी लिन गएका बेला अस्पतालबाट निस्केको थियो । ज्वरो आएपछि उनलाई उपचारका लागि भर्ना गरिएको थियो । नदीको बीचमा ढुङ्गामा अड्किएको अवस्थामा सङ्गमको शव फेला परेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर र सशस्त्र प्रहरी सम्मिलित टोलीले शव निकाली पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रवक्ता विकले बताए ।

मणिपाल अस्पतालबाट नदीपुरतर्फ आउने सेती नदीको झोलुङ्गे पुलको बीचमा सङ्गमले लगाएका कपडा र परिचयपत्र भेटिएका थियो । सङ्गमको परिवारले समेत ड्याम खोली खोजतलास गरिदिन आग्रह गरेको थियो । उनले नदीमा हाम फालेको हुन सक्ने अनुमान गर्दै खोजीका लागि सेती नदीको ड्याम खोलिएको हो । नदी छेउछाउ नजान सार्वजनिक सूचना जारी गर्दै प्रहरीले बिहीबार मध्याह्न १२ देखि ४ बजेसम्म ड्याम खोलेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर