मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने सरकारी प्रतिबद्धता हावादारी हुँदै

काठमाडौं । छिटोभन्दाछिटो मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने सरकारी प्रतिबद्धता हावादारी हुँदै गएको छ । प्राविधिक समस्याभन्दा सम्बन्धित निकायको व्यवस्थापकीय कमीकमजोरीका कारण काठमाडौंमा पानी वितरण कार्य अनिश्चित हुँदै गएको छ । खानेपानी मन्त्रालय र मेलम्ची आयोजनाका सम्बन्धित निकायहरूबीच समन्वयको अभाव रहँदा बाढीपहिरोबाट उत्पन्न समस्या समाधानको पहल नै हुन सकेको छैन ।

वर्षायाम सकिएको तीन महिना सकिँदा पनि मेलम्चीको पानी काठमाडौं ल्याउन नसक्दा सर्वसाधारण ट्याङ्करको पानी किनेर पिउन बाध्य छन् । गत वर्ष मङ्सिरको पहिलो सातादेखि नै पानी वितरण सुरु भइसकेको थियो । बाढीपहिरोले क्षति पुर्‍याउने त्रासमा जेठमा पानी पथान्तरण बन्द गरिएको थियो । यस वर्ष असोज २८ गते देशभरिबाट मनसुन बाहिरिएको छ । सुरुङमा पानी पथान्तरण बन्द भएको सात महिना र मनसुन बाहिरिएको दुई महिना बित्न लाग्दा पनि बाढीपहिरोले पुरिएको मेलम्चीको मुहान (हेडवर्क्स) खुलाउन अहिलेसम्म कुनै प्रयास गरिएको छैन ।

खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानी आयोजनाको अहिलेको ठेकेदारले सिनो हाइड्रोले बाँकी रकमको भुक्तानीलगायतका विभिन्न शर्त राखी काम सुरु नगरेकाले पानी वितरणमा ढिलाइ भएको बताए । सम्झौताअनुसार सिनो हाइड्रो आयोजनाको निर्माण कम्पनीका रूपमा कायम रहेसम्म अरू कुनै पनि कम्पनीले आयोजनासम्बन्धी कुनै पनि काम गर्न पाउने छैनन् ।

“काम त्यही ठेकेदारले गर्नुपर्छ । उसका मागबारे दुई दिनदेखि मन्त्रालयमा छलफल भइरहेको छ । उसको बाँकी रहेको रकम भुक्तानी गर्न मन्त्रालय तयार छ । ठेकेदार कम्पनीले धरौटी रकम फिर्ताका लागि अदालतमा दिएको मुद्दा अहिले विचाराधीन रहेकाले समेत समस्या देखिएको छ,” मन्त्री यादवले भने । आयोजनाको बिमा गरिएको र सोही रकमबाट नै ठेकेदारलाई भुक्तानी गर्नुपर्ने भएकाले रकमको कुनै समस्या नरहेको उनको भनाइ छ ।

करिब पाँच करोड रुपैयाँ बाँकी रहेको रकमको भुक्तानी, धरौटी रकम फिर्ता र अदालतबाट मुद्दाको टुङ्गो नलागेसम्म मुहानस्थललगायत आयोजनाको कुनै पनि काम नगर्ने शर्त ठेकेदार कम्पनीको छ । निर्माण कम्पनी सिनो हाइड्रो यो वर्ष अहिलेसम्म आयोजनाको मुहानस्थलमा नै पुगेको छैन ।

खानेपानीमन्त्री यादवले मेलम्चीको पानी काठमाडौंमा छिट्टै नै वितरण हुने आश्वासन दिएको १० दिन पुग्न लाग्दा पनि अहिलेसम्म आयोजनाको मुहानस्थलमा नै काम सुरु हुन नसक्नुले समेत गम्भीर व्यवस्थापकीय कमीकमजोरी प्रस्ट भएको देखिएको छ । सो क्रममा मन्त्री यादवले मेलम्चीको पानी छिट्टै नै वितरण हुने गरी कामलाई तीव्रता दिन आयोजनाका कर्मचारीलाई निर्देशनसमेत दिएका थिए ।

मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशकसहित मन्त्री यादव मङ्सिर १५ गते सिन्धुपाल्चोकको अम्बाथानस्थित आयोजनाको मुहानस्थलको अवलोकनमा पुगेका थिए । मन्त्री यादवले अवलोकनको क्रममा सञ्चारकर्मीसमक्ष सुरुङमा पानी पथान्तरणको सुनिश्चितता भएपछि मात्र काठमाडौं फर्किने प्रतिबद्धता गरे पनि अहिलेसम्म मुहानस्थलमा काम नै सुरु हुन सकेको छैन । मन्त्री यादव पर्सिपल्ट नै काठमाडौं फर्किएको थियो । मुहान क्षेत्रमा कार्यरत आयोजनाका एक जना इन्जिनियरले बालुवा र ढुङ्गाले पुरिएको हेडवक्र्स क्षेत्रमा अहिलेसम्म काम सुरु हुन नसकेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर