मुख्यमन्त्रीको गाडी तोडफोड गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की चढेको गाडी तोडफोडमा संलग्न रहेको आरोपमा नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीलाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो दमक आएका मुख्यमन्त्री कार्कीको गाडीमा ढुंगा र मुक्का प्रहार गरेर सिसा फुटाएको घटनामा संलग्न रहेको प्रमाणको आधारमा चौधरीलाई अर्जुनधारा नगरपालिका –८ बाट साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कोशी प्रदेश नामकरणको विषयमा असन्तुष्टि जनाउँदै आएका पहिचानवादी समूहले मुख्यमन्त्री कार्कीलाई स्कर्टिङ गरिरहेको प्रहरीको गाडी मोडिनेबित्तिकै दमकको सगरमाथा पेट्रोलपम्पनजिक बरगाछीमा रोक्ने प्रयास गरेका थिए ।

केहीले गाडीमा ढुङ्गा हानेर र मुक्का तथा पञ्जाले सिसा फुटाएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार मुख्यमन्त्री कार्कीको गाडी रोक्ने प्रयास र सिसा फुटाउने घटनामा संलग्न रहेको पाइएकाले चौधरीलाई पक्राउ गरिएको हो । सो घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको उनले बताए । चौधरीलाई अहिले इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर