यु–१९ एसिया कप : नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) स्थित आइसिसी एकेडेमी ओभल २ मैदानमा आइतबार भएको खेलमा जितमा लागि २६२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल ४२।१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८८ रनमा समेटिएको थियो । लगातार दोस्रो हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । नेपाल समूहको पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो ।

नेपालका लागि अर्नुन कुमालले सर्वाधिक ९१ रन बनाए । उनले एक सय आठ बलमा १३ चौकाको सहयोगमा उक्त रन बनाए । देव खनालले २४, गुलशन झाले १७, दीपक बोहोराले १५ र दीपेश कंडेलले ११ रन बनाए ।

बलिङ्मा अफगानिस्तानका नासिर खान मारोफ्खिल र फ्रिडोन डाउडजाईले तीन तीन विकेट लिए । मोहमद युनुसले दुई दुई तथा वाहिदुल्हा जार्दन र खलेल अहमदले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९।३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ६१ रन बनाएको थियो ।

अफगानिस्तानका लागि जस्मित जर्दानले अविजित एक सय ६ रनको शतकीय पारी खेलेका थिए । उनले एक सय ५२ बलमा आठ चौकाको सहयोगमा उक्त रन बनाएको हो । नुमन शाहले ६०, रहिमुल्लाह जुरमतिले ३५, वाफिल्लुहा ताराकहिलले १५, खलेल अहमदले १३ र खलिद तानिवालले १० रन बनाए । बलिङमा नेपालका हेमन्त धामी, सुवास भण्डारी र गुलशन झाले दुई दुई विकेट लिए । आकाश चन्द र दीपेश कँडेलले एक एक विकेट झारे ।

एसिया कपमा नेपाल समूह ‘ए’ मा छ । यस समूहमा निकै बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह ‘बी’ मा आयोजक युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन् । एसिया कपलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यु–१९ विश्वकप तयारीको रूपमा समेत लिइएको छ । नेपालले समूहको तेस्रो तथा अन्तिम खेल २६ गते भारतसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर