सेयर बजारमा तेस्रोपटक ‘सर्किट ब्रेक’, २ मिनेटमै ६ प्रतिशतले बढेपछि कारोबार बन्द

काठमाडौं । आइतबार सेयर बजारमा तीन पटक ‘सर्किट ब्रेक’ लागेको छ । कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । ११ः २५ मा दोस्रो पटक खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भयो ।

पुनः १२: ०७ बजे सुरु भएको कारोबारमा फेरि २ मिनेटमै अघिल्लो दिनको तुलनामा ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेको हो । योसँगै आइतबारका लागि सेयर कारोबार बन्द भएको छ । आइतबार सेयर बजारको परिसूचक नेप्से १११ अंक बढेको छ । नेप्से १९६३ अंकमा कायम भएको छ । आइतबार ९ मिनेटमा ४८ करोड २४ लाख रुपैयाँको कारोबार भयो ।

शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षामा सेयर धितोमा जाने कर्जाको जोखिमभार १५० प्रतिशतबाट झारेर १२५ प्रतिशत कायम गरिएको थियो । लामो समयसम्म बजार घटिरहँदा राष्ट्र बैंकले लिएको यो कदमपछि लगानीकर्तामा मनोबल बढेको छ ।

यस दिन जलविद्युत् समूह सबैभन्दा धेरै ८.६ प्रतिशत बढ्यो । होटल तथा पर्यटन समूह ६.७, बैंकिङ ५.६, विकास बैंक ६.५, फाइनान्स ६.५, लगानी ६.४, जीवन बीमा ५.३, माइक्रोफाइनान्स ५.६, उत्पादन ४.८, निर्जीवन बीमा ५.२, अन्य ४.५ र ब्यापार उपसमूह ५.८ प्रतिशतले बढेका छन् ।

१३ कम्पनीको मूल्य ९.९ देखि १० प्रतिशतसम्म बढेको छ । कारोबार रकमका आधारमा माउन्टेन इनर्जी, सोनापुर सिमेन्ट, नेपाल इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर