लिम्पियाधुरा, लिपुलेक, कालापानीको प्रश्न राख्न नसक्नु राष्ट्रप्रतिको बेइमानी : ओली

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको बताएका छन् । मध्यपहाडी पुष्पलाल लोकमार्ग अभियानका क्रममा गोरखामा शनिबार आयोजित कार्यक्रममा उनले विमानस्थल चलाउन पाउँदैनौ भनेर भित्र भनेपनि बाहिरबाट कुनै शक्तिले भन्न नसक्ने बताए । उनले चीनलाई पर्यटक ल्याउन आग्रह गर्ने हो भने पनि वार्षिक ५ देखि १० लाख पर्यटक ल्याउनसक्ने भन्दै उनले सरकारले विमानस्थल सञ्चालनमा जोड दिनुपर्ने बताए ।

अध्यक्ष ओलीले सरकारले सार्वभौमसत्ता, स्वाधीनताको र स्वतन्त्रताको उपयोग गर्ने हुति राख्नुपर्ने बताए । उनले लिम्पियाधुरा, लिपुलेक, कालापानीको प्रश्न उच्चस्तरका भ्रमणका क्रममा राख्न नसक्ने कुरा देशप्रतिको बेइमानी भएको बताए ।

उनले भने, ‘‘विमानस्थल कसैले चलाउन पाउँदैनौ भनेर भित्र भनेको होला, बाहिर त भन्न सक्दैन नि । त्यसकारण एअरपोर्ट त चल्नुपर्छ नि । चीनलाई मात्रै टुरिस्ट लिएर आउँ भन्यो भने ५–१० लाख पर्यटक त चीनले ल्याउँछ, पोखरा एअरपोर्टमा, आफ्नै प्लेनबाट । लुम्बिनी चलाउनुपुर्‍यो नि । बुद्धिस्टहरूको ओहिरो लाग्छ । एअरपोर्ट बनेको छ, आफ्नै जमिनमा बनेको हो, आफ्नै जमिनबाट उडाउने र ल्याण्ड गर्ने हो । के समस्या छ ? तर सरकार यस्तो छ, पोखरामा पनि एअरपोर्ट उद्घाटन भएछ होइन, भनेपछि अँ बनाइहाले भन्ने तरिका छ । उद्घाटन भयो, अब चलाइन्छ भन्नु परेन । हाम्रो सार्वभौमसत्ता, स्वाधीनताको, स्वतन्त्रताको उपयोग गर्ने हुति राख्नुपर्छ । लिम्पियाधुरा, लिपुलेक, कालापानीको प्रश्न, हाम्रा उच्चस्तरका वार्तामा समावेश हुन सक्दैन भने त्यो भन्दा देशप्रतिको बेइमानी के हुन्छ ः?’ अध्यक्ष ओलीले विकासमा कुनैपनि नेपाली भूभाग पछि पर्नु नहुने समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर