काठमाडौंमा आलु, प्याजको अभाव, व्यापारी हडतालतर्फ

काठमाडौं ।  आलु र प्याजको भ्याट विवादले होलसेल व्यवसायीले आयात र बिक्री बन्द गर्दा सर्वसाधारण उपभोक्ता मारमा परेका छन् । सरकारले बजेटमार्फत आयातित प्याज र आलुमा मात्रै भ्याट लगाउने भने पनि कार्यान्वयनका क्रममा स्वदेशी उत्पादनमा समेत भ्याट लगाएपछि कालीमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीले हडताल गरेका हुन् ।

आयातकर्ता नै हडतालमा उत्रिएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा तीन दिनदेखि आलु र प्याज भित्रिएको छैन । समितिले पनि तीन दिनदेखि नै आलु–प्याजको मूल्यसूची अपडेट गरेको छैन । ‘भ्याटका कारण व्यवसायी विरोधको कार्यक्रममा छन्, उनीहरूले स्वदेश र भारतबाट समेत आलु–प्याज ल्याएका छैनन्,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘कालीमाटी बजारमै आलु–प्याज नभएपछि मूल्य नराखेका हौं ।’

ठूला व्यापारीको हडतालका कारण खुद्रा बजारमा आलु र प्याज पाइएको छैन । पाइहाले पनि महँगो मूल्य तिर्नुपर्छ । ‘आलुको सिजन भए पनि होलसेलमा किलोकै ५० देखि ५५ रुपैयाँमा किन्नुपरेको छ । खुद्रामा बिक्री गर्दा धार्नीको १८० देखि २ सय रुपैयाँ छ,’ एक खुद्रा व्यापारीले भने, ‘सिजनमा आलुको भाउ सस्तो हुनुपर्ने हो । तर बजारमा सहजै पाइँदैन ।’ प्याजको अवस्था पनि उस्तै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर