कोशी प्रदेशमा वर्षा, भोलिदेखि मौसममा सुधार हुने अपेक्षा

काठमाडौं । आज बिहीबार कोशी प्रदेशका प्रायस् सबै भू–भाग र मधेस प्रदेशका एक दुई स्थानमा छिटफुट वर्षा भइरहेको छ । मौसमविज्ञान विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम बेलुकासम्म नै रहने छ । यस्तै कोशी प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको छ ।
विभागका मौसमविद् गङ्गा नगरकोटीका अनुसार अहिले पश्चिमी वायु र भारतको छत्तिसगढमा रहेको न्यूनचापीय प्रणालीले गर्दा नेपालका अधिकांश स्थानमा मौसम बदली भएको छ । आज दिनभर कोशी प्रदेशका सबै भूभागमा र मधेस प्रदेशका एक दुई स्थानमा छिटफुट वर्षा हुने देखिन्छ ।
मौसमविद् गङ्गा नगरकोटीले तत्काल ठुलो पानी पर्ने सम्भावना भने नरहेको बताए । उपत्यकामा मौसम धुम्म भए पनि वर्षाको सम्भावना भने नरहेको उनको भनाइ छ । नगरकोटीले भोलिदेखि भने मौसममा सुधार हुँदै जाने जानकारी पनि दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर