एनसेलसम्बन्धमा अध्ययन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन
काठमाडौं । सरकारले एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा अध्ययन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।
उनकाअनुसार सरकारले समितिको सस्यहरुमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहने छन् । समितिलाई ३० दिनको कार्यावधि दिइएको पनि मन्त्री शर्माले बताइन् ।
उनले भनिन्, ‘एनसेलको शेयरको खरिदबिक्रीका सम्बन्धमा जुन प्रश्न उठेको थियो, त्यो प्रश्नको विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति निर्माण गर्ने निर्णय गरिएको छ । सरकारले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको नेतृत्वमा संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । सदस्यहरुमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले हुनुहुन्छ । यसलाई ३० दिनको कार्यावधि दिइएको छ ।’
त्यस्तै सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक उद्धार कार्यक्रम पहिलो चरणका लागि प्राप्त सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्न अख्तियारी दिने निर्णयसमेत गरेको छ । प्रवक्ता शर्माका अनुसार सरकारले खानेपानी तथा महशुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई र सदस्य पदमा यशोदा कार्की र कुलभूषण शर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।