न्याय पाएको खुशीमा अदालतपरिसरमा फूलवर्षा र नाचगान

काठमाडौं । ‘न्याय मरेको छैन’ भन्ने सन्देश रुकुमपश्चिमको जिल्ला अदालतले दिएको छ । अदालतले मङ्गलबार गरेको फैसलाको स्वागत गर्दै पीडित परिवारले बुधबार बाजागाजासहितको र्‍याली निकालेका छन् र अदालतको प्रवेशद्वारमा ढोगेर फूलमाला पनि बर्साएका छन् । उनीहरूले ‘छोरा मरे न्याय मरेन’ भन्ने लेखिएको ब्यानर लिएर बजार परिक्रममा समेत गरे ।

मङ्गलबार रुकुमपश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा २०७७ जेठ १० गते जाजरकोटका नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डको फैसला भएपछि आज र्‍याली निकालिएको हो । यस्तै, पीडित परिवाले ‘छोरा मरे, न्याय मरेन’, ‘सकियो अब भन्नेवाद, अदालतलाई धन्यवाद’, ‘न्याय पाए आमाले, शान्ति पाए आत्माले’, ‘भाइ बगाउने भेरीहरु, नबगाउनु फेरि अरु’ जस्ता नारा लगाउँदै बजार परिक्रमा लगाएका छन् ।

उक्त घटनामा संलग्न भएको भन्दै मङ्गलबार रुकुम जिल्ला अदालतले २४ जनालाई जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले उक्त घटनामा मुद्दा दर्ता भएका ३४ मध्ये २४ जनालाई जन्मकैदको फैसला गरेको हो । अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले पुर्पक्षका लागि थुनामा रहेका २३ जना र तारेकमा रिहा भएका एक जनासमेत गरेर २४ जनालाई जन्मकैदको फैसला भएको जानकारी दिए ।

उहाँका अनुसार तत्कालीन वडा अध्यक्षसमेत रहेका डम्बर बहादुर मल्ल, डिल्लीबहादुर ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भनिने सविन पुन, तिलक चन्द, ईन्द्रबहादुर भनिने इर्दबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, बिनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राना, नबिन कुमार घर्तीमगर, बिराज पुन मगर, भिमबहादुर पुन, रमित पुन मगर, बिष्णु मल्ल र तीनजना नाम परिवर्तित  छन् । नाम परिवर्तित तीनजना घटनामा मृतक नवराजकी प्रेमिका भनिएकी किशोरीका बुवा, दाइ र भाइ छन् ।

यस्तै, जन्मकैद फैसला भएका २४ जनामध्ये मल्ल ठकुरी थरका सबैजनालाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवानासमेत भएको छ । त्यसैगरी, नवराजकी प्रेमिका भनिएकी किशोरी र निजको आमालाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर