वालिङमा घरेलु मदिरालाई ब्राण्डिङ गरिने

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीय घरेलु मदिरालाई ब्राण्डिङ गर्ने भएको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै नागरिकलाई स्वरोजगारको कार्यक्रमसँग जोड्न पालिकाले घरेलु मदिरालाई ब्राण्डिङ गर्न लागेको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए । खाँणले भने, “नगरको आर्थिक वृद्धिका लागि घरेलु मदिरालाई ब्राण्डिङ र लेबलिङ गर्ने कार्य सुरु गर्न लागेका हौं ।”

यसले नगरपालिकाको करको दायरा वृद्धि हुने र ग्रामीण तहका नागरिक आत्मनिर्भर हुने उनको भनाइ छ । राज्यले अवैध मानेको घरेलु मदिरालाई ब्राण्डिङ गर्दा प्रति परिवार प्रति महिना १५ हजारदेखि १८ हजारसम्म आम्दानी बढ्ने उपप्रमुख कविता तिवारी गैह्रेको भनाइ छ । यसबाट पालिकाभित्रका एक हजार पाँच सय घरधुरी लाभान्वित हुने भन्दै उपप्रमुख तिवारीले पुरानो सीपको प्रयोगले आर्थिक उन्नति सहज हुने बताइन् ।

वालिङमा स्थानीय स्तरमा उपलब्ध कोदोका साथै आँप, लिची, चिउरी, बेलौती, भूइँ स्याउलगायतका फलफूलहरूको उपयोग गरी मदिरा उत्पादन हुँदै आएको छ । यस्ता फलफूलहरु खेर जान नदिन पनि मदिरा उत्पादनलाई व्यावसायिक बनाउन लागिएको नगरपालिकाले जनाएको छ । घरेलु मदिरालाई ब्राडिङ गर्ने विषयमा मङ्गलबार भएको छलफलमा पालिकाका जनप्रतिनिधि, कर्मचारी र विज्ञहरुले दीर्घकालीन योजना बनाएर यसलाई अगाडि बढाउने निष्कर्ष निकालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर