राष्ट्रिय सुरक्षामा गम्भीर असर त्यसको सामना गर्न नेपाली सेना तयार : प्रधान सेनापति

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं राष्ट्रिय परिस्थितिका कारण मुलुकको राष्ट्रिय सुरक्षामा गम्भीर असर परेका टिप्पणी गर्दै त्यसको सामना गर्न नेपाली सेना तयारी अवस्थामा रहेको बताएका छन् ।

गण तथा गुल्म कमान्ड गरी रहेका सेनाका अधिकृतहरूलाई मंगलबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानसेनापति शर्माले भने, ‘राष्ट्र हितविपरीत हुने कुनै पनि कामको सेना मूकदर्शक भएर बस्न सक्दैन ।’ उनले देशभर परिचालित हुने विभिन्न युनिटका कमान्डरहरूलाई तयारी अवस्थामा रहनसमेत निर्देशनसमेत दिए ।

नेपाली सेनाको कुनै पनि तहको कमान्ड भन्नु जागिर वा अधिकारको कुरा नभई सेवा भावका साथ संवेदनशील भई निर्वाह गर्नुपर्ने उत्कृष्ट जिम्मेवारी भएको जिकिर गर्दै उनले आफ्नो जिम्मेवारी क्षेत्रका जनता, जनप्रतिनिधि, विभिन्न निकायका कर्मचारी एवं कानुन कार्यान्वयन गर्ने निकायमाझ एकताबद्ध भएर अघि बढ्न पनि ती युनिट कमान्डरहरूलाई निर्देशन दिए ।

आम नेपालीहरूको आस्था र भरोसाको केन्द्रको रूपमा स्थापित सेनाको गौरवलाई कायम राख्न मुख्य भूमिकामा रहेका युनिट कमान्डलगायत सबैलाई पेसागत मर्यादामा रहेर संस्था र यसमा कार्यरत सकलदर्जाको हितमा समर्पित रहन पनि उनले निर्देशन दिए । नेपाली सेना मुलुकको संविधान, विधि, पद्धति र उत्कृष्ट परम्पराबाट निर्देशित रहेर दायित्व निर्वाहमा प्रतिबद्ध रहेको बताउँदै प्रधान सेनापति शर्माले व्यक्तिगत स्वार्थबाट प्रेरित भएर संस्थाको हित प्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्तिलाई अन्त्य गर्न आफू प्रतिबद्ध रहेको बताए ।

पछिल्लो समयमा विभिन्न सञ्चारमाध्यमको दुरुपयोग गर्दै सेनाका कामकारबाही, यसको नियमित सञ्चालन प्रक्रियालगायतका विषयमा अनर्गल प्रचारबाजी भइरहेको भन्दै उनले यस्ता तत्वहरूसँग सचेत रहन निर्देशन दिए । विधि, पद्धति तथा प्रक्रियाविपरीत कसैसँग कुनै सम्झौता नगर्ने बताउँदै उनले भने, ‘असंख्य सिपाहीहरूको रगत पसिनाको जगमा उभिएको नेपाली सेनालाई संस्था भित्र वा बाहिर रहेर कमजोर बनाउने एवं आफ्नो निहित स्वार्थसिद्ध गर्ने दुराशयले प्रेरित भई त्यस किसिमको कार्य गर्नेको दुष्प्रयासले नेपाली सेना कमजोर हुने छैन ।’

प्रधानसेनापति शर्माले आफ्नो र प्रधानमन्त्रीको बीचमा गोप्य सम्झौता भएको, विशेष परिस्थितिमा भर्ना भएर विशेष ढंगले पदोन्नति भएको र निर्धारित योग्यता नपुगेको व्यक्तिलाई प्रधानसेनापति बनाउन भूमिका तयार गरेको, कुनै राजनीतिक दल विशेषलाई खुसी पार्ने गरी काम गरिदिएबापत राजदूतको नियुक्तिमा जान लागेको जस्ता व्यक्तिगत तथा संस्थागत प्रतिष्ठामा दाग लगाउने कुचेष्टाले भरिएका दुष्प्रचार पूर्णतः गलत रहेको बताए ।

रिक्त रथि दर्जामा पदोन्नति प्रक्रिया सुरु भएसँगै सम्भावित उम्मेदवारहरूको उमेर, शैक्षिक योग्यतालाई अतिरञ्जित तवरले प्रचारबाजी गरिएको भन्दै प्रधानसेनापति शर्माले शैक्षिक प्रमाणपत्र, नागरिकता जस्ता कागजात आवश्यकताअनुसार सम्बद्ध निकायबाट यकिन गरेर मात्र जङ्गीअड्डाले कारबाही अघि बढाउने गरेको उल्लेख गर्नुभयो । प्रधान सेनापति शर्माले विगतमा जाँचबुझ गर्ने क्रममा आफ्नो जिम्मेवारीमा परेका केही पदाधिकारीको कागजात शंकास्पद देखिएकोले कारबाही गर्न सिफारिस गरेको उदाहरण पनि दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर