बेलायतमा अध्यागमन नियममा कडाइ

काठमाडौं । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषणा गरेका छन् । प्रधानमन्त्री सुनकको ती नयाँ कदमहरूलाई अध्यागमन दर घटाउने सरकारको ‘कट्टरपन्थी कार्य’ को रूपमा वर्णन गर्दै बेलायतलाई फाइदा पुर्‍याउने सुनिश्चित रहेको निष्कर्ष निकालिएको छ ।

नयाँ उपायहरूको शृङ्खलाको रूपमा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले जबसम्म स्नातकोत्तर अनुसन्धान पूरा गर्दैनन् तबसम्म उनीहरूको परिवारलाई बेलायतमा ल्याउनबाट रोक लगाइने छ । साथै यो कदमबाट दक्ष विदेशी कामदारहरूले देशमा काम गर्न भिसा थप्न चाहे न्यूनतम पारिश्रमिक बढाउनुपर्ने बाध्यता सिर्जना हुनेछ ।

प्रधानमन्त्री सुनकले भने, ‘अध्यागमन धेरै उच्च छ। आज हामी यसलाई घटाउन कट्टरपन्थी बनेर कारबाही गरिरहेका छौँ । यी कदमहरूले बेलायतलाई फाइदा पुर्‍याउने कुराको सुनिश्चित गर्नेछ ।’ यस नयाँ प्रावधानअन्तर्गत स्नातकोत्तर अनुसन्धान डिग्रीमा नपुगेसम्म विदेशी विद्यार्थीहरूलाई आफ्नो परिवारलाई बेलायतमा ल्याउन प्रतिबन्ध लगाउनेछ । बेलायतमा कुल माइग्रेसन गत वर्ष उच्च स्तरमा पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । यसले बेलायत सरकारलाई दबाब थपेपछि यस मुद्दालाई राजनीतिक विषय बनाइएको सीएनएनले उल्लेख गरेको छ ।

बेलायतमा सन् २०२२ मा ६ लाख ६ हजार मानिसको बसाइँ, सराइ भएको राष्ट्रिय तथ्याङ्कको कार्यालय (ओएनएस) ले जनाएको छ । त्यसैगरी १२ लाख मानिस बेलायत प्रवेश गरेका छन् भने, झण्डै आधा सङ्ख्याले देश छोडेर गएका छन् । सीएनएनका अनुसार कन्जरभेटिभ सरकारहरूले बेलायतमा सर्ने मानिसहरूको सङ्ख्यामा ठुलो मात्रामा कमी ल्याउने वाचा गरे तापनि सहज रूपमा त्यसो हुन सकेको छैन । विशेषगरी ब्रेक्सिटको परिप्रेक्ष्यमा हेर्दा यसका समर्थकहरूले सिमानाहरू ‘नियन्त्रण’ गर्न बेलायतलाई आवश्यक कदमको रूपमा यो पछिल्लो कदमलाई लिएका छन् ।

बेलायत आइपुगेका अधिकांश मानिसहरू नौ लाख २५ हजार गैर–ईयू नागरिकहरू रहेको र तीमध्ये १२ जनामा एक जनामध्ये एक शरण खोज्नेहरू रहेको तथ्याङ्कले देखाएको छ । गैर–ईयू देशहरूबाट बेलायत बसाइँ सर्नेहरूमा कामको खोजी, अध्ययन र मानवीय उद्देश्य प्रमुख रहेरको ओएनएसमा अन्तर्राष्ट्रिय आप्रवासन केन्द्रका निर्देशक जे लिन्डोपले उल्लेख गरे । यसैगरी, गत वर्ष बेलायतको अध्यागमन तथ्याङ्कका अनुसार सबैभन्दा धेरै भारतीय नागरिकहरू बेलायतमा अध्ययन, कामको खोजी र पर्यटन भिसा बोकेर प्रवेश गरेका थिए । जुन २०२२ को अन्त्यमा दुई लाख ५८ हजारभन्दा बढी भारतीय नागरिकहरूले भ्रमण भिसा प्राप्त गरेका छन् जुन अघिल्लो वर्षको तुलनामा ६३० प्रतिशतले बढी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर