बर्दियामा थारु गुरुवाहरुबाट हात्तीको पूजा

काठमाडौं । बर्दियामा थारु गुरुवाहरुबाट हात्तीको पूजा गरिएको छ । पूजा गर्नाले हात्ती निरोगी हुनुका साथै हात्तीबाट हुने मानवीय क्षति कम हुने जनविश्वास छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामले दक्षिण एसियाकै सबैभन्दा ठूलो गजराज हात्ती बर्दियामै रहेको र उक्त गजराज हात्तीको नाममा बर्दिया निकुञ्जस्थित हात्तीसार नजिकै गजराज स्तम्भ खडा गरिएको स्थानमा प्रत्येक वर्ष हात्तीपूजा हुने गरेको बताए । उक्त स्तम्भमा थारु गुरुवाहरुबाट पूजापाठ गरी हात्तीपूजा गरिन्छ । करिब १५–२० जना गुरुवाहरुले एकै पटक काप्दै जिब्रो छेड्ने गर्छन् भने खाली खुट्टा बलिरहेको आगोमा हिँड्छन् ।

थारु गुरुवाको पूजा पाठपछि सिँगारिएका हात्तीलाई टीका लगाई मिठो खानेकुरा दिने चलन छ । पहिले पहिले हात्तीबाट सुंँगुुर किचेर हात्तीपूजा गर्ने पुरानो परम्परालाई परिमार्जन गरी थारु गुरुवाहरुबाट हात्तीको पूजा गर्ने थालनी गरिएको थारु गुरुवाका प्रमुख ठाकुरप्रसाद थारुले बताए । जङ्गली हात्तीले निकुञ्ज मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयले लगाएको अन्नबाली खाइदिनुका साथै घर भत्काइदिने र मानवीय क्षतिसमेत गर्ने गर्दछन् । विशेषगरी हात्तीको पूजापाठपछि मानव वन्यजन्तुबीच हुने द्वन्द्व कम हुने र मानव तथा वन्यजन्तुबीच सह–अस्तित्व कायम हुने विश्वास गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर