तराईमा हुस्सु, हिमाल-पहाडमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं ।  देशका केही स्थानमा मंगलबार पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकीको पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हो ।

यस्तै, राति कोशी, मधेश, बागमती र गण्डकी  प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहान देशको तराईका थोरै स्थानमा हुस्सु लागेको छ । तराईका थोरै भू–भागमा लागेको हुस्सु मध्यान्हसम्ममा क्रमिकरूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ । हुस्सुको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ ।

यस्तै, वर्षा र हिमपातसँगै देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव  रहेको छ । साथै देशको पुर्वी भू–भागमा बंगालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित ‘मिचोङ’ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर