दैलेखमा पेट्रोलियम अन्वेषणको विकल्प छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त गर्न दैलेखमा भएको पेट्रोलियम अन्वेषणको विकल्प नभएको बताएका छन्।

एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा कर्णाली प्रदेशको दैलेख पुगेका अध्यक्ष ओलीले दैलेखमा भएको पेट्रोलियम पदार्थको उत्खनन गर्नुपर्नेमा जोड दिए। दैलेखको भैरवी गाउँपालिका–१ स्थित पेट्रोलियम अन्वेषण स्थलको स्थलगत अवलोकनका क्रममा अध्यक्ष ओलीले पेट्रोलियम अन्वेषणको काम आफ्नै पालामा भएको उल्लेख गर्दै त्यसको कामलाई थप अघि बढाउनुपर्ने बताए।

‘दैलेख पुरातात्त्विक महत्वको जिल्ला मात्रै होइन, पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको जिल्ला पनि हो’, ओलीले भने, ‘हाम्रै (एमाले नेतृत्वको सरकारको) पालामा यसको थप खोज, अध्ययन र अनुसन्धानको काम अघि बढाउनुपर्छ भनेर अन्वेषणको कामका लागि टोली खटाएका थियौँ।’

अन्वेषणको कामका लागि खटाइएको चिनियाँ टोलीको निचोडका बारेमा अन्वेषण विभागको टोलीसँगको ब्रिफिङपछि ओलीले देशलाई समृद्धिको मार्गमा ल्याउन पेट्रोलियम पदार्थको उत्खननले ठुलो भूमिका खेल्ने बताए।

दैलेखको जलजलेमा भएको पेट्रोलियम अन्वेषण स्थलमा एमाले ओली नेतृत्वको हाइकमाण्डलाई जानकारी दिँदै खानी तथा भूगर्भ विभागका अन्वेषण परियोजना प्रमुख दिनेकुमार नापितले चिनियाँ अन्वेषण टोलीले पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको निचोड निकालेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर