पाल्पामा गोमन सर्पको उद्धार

काठमाडौं । पाल्पाको रामपुर नगरपालिका–८, पिल्टारमा भेटिएको राज गोमन (किङ कोब्रा) सर्पको उद्धार गरिएको छ । वसन्त कुमालले आफ्नै घरमा सञ्चालन गरेको किराना पसल तथा रेस्टुरेन्टभित्र भेटिएको किङ कोब्रालाई उद्धार गरी सुरक्षित स्थानमा छाडिएको छ ।
भाले राज गोमन शनिबार साँझ सर्प भेटिएपछि घरपरिवार र स्थानीयले रामपुर सव–डिभिजन वन कार्यालयमा खबर गरेका थिए । रामपुर सव डिभिजन वन कार्यालय र इलाका प्रहरी कार्यालय रामपुरको समन्वयमा सर्प उद्धारकर्ता सागर पाण्डे र प्रशान्त अधिकारीले आइतबार अपराह्नमा उद्धार गरेका हुन् । उद्धार गरिएको सर्प रामपुर क्षेत्रमा बस्ती बाक्लो भएकाले सुरक्षित प्राकृतिक वासस्थानमा लगेर छाडिएको रामपुर सव डिभिजन वन कार्यालयका वन रक्षक केशबहादुर खण्डलुले जानकारी दिए ।

सर्प ९ फिट लामो र ४ केजी ३ सय ग्राम तौलको रहेको थियो । सर्प उद्धारकर्ता पाण्डेले यस सहित ५८ वटा किंग कोब्रा प्रजातिको सर्प उद्धार गरिसकेको जानकारी दिनुभयो । हाल सम्म विभिन्न प्रजातिका साढे १३ हजार बढी सर्प उद्धार गरिसकेको बताए । पर्यावरणलाई अनुकूल राख्न सर्पले ठुलो मद्दत गर्ने हुँदा कुनै पनि सर्प देखेमा नमार्न र विना अनुभव नियन्त्रणमा लिने प्रयास नगर्न अनुरोध गरे । उनले भने, “यो निकै विषालु सर्प हो, यसको एन्टिडोज पाउन गाह्रो हुन्छ । तर सर्पलाई असर पुग्ने काम गरिएन भने कसैलाई केही गर्दैन ।” (तस्बिरः प्रतीकात्मक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर