टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीनको आपत्ति

काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीनले आपत्ति जनाएको छ। कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि चिनियाँ पक्षले आपत्ति जनाएको हो।

टिकटक चिनियाँ कम्पनी बाइट डान्सले बनाएको एप हो। टिकटक बन्द भएपछि औपचारिक र अनौपचारिकरूपमा चिनियाँ अधिकारीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत सरकारका उच्च अधिकारीसँग सो निर्णयप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन्। नेपालका लागि चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री दाहाललाई भेटेरै टिकटक बन्द गर्ने निर्णयबाट आफू दुःखी भएको बताएका थिए। भूराजनीतिक प्रभावले हो वा सामाजिक सद्भाव बिगारेकाले हो ? कुन कारणले नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो भन्नेबारे स्पष्ट हुन नसकेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

चिनियाँ राजदूत छन् सोङले भूराजनीतिक प्रभावका कारण नेपाल सरकारले टिकटक बन्द गरेको त होइन भनी प्रधानमन्त्री दाहालसँग प्रश्न गरेका थिए। प्रधानमन्त्री दाहालले भूराजनीतिक प्रभावले नभइ खल्बलिँदै गएको सामाजिक सद्भाव कायम गर्न टिकटक बन्द गर्ने निर्णय लिन सरकार बाध्य भएको चिनियाँ राजदूत सोङलाई जवाफ दिएको बताइएको छ। प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल नियमन गर्न सरकार अग्रसर रहेको र त्यसका लागि बलियो कानुन बनेपछि पुनः सञ्चालनमा ल्याउन सकिने राजदूत सोङलाई आश्वासन दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर